काठमाडौं । काठमाडौं उपत्यका र देशभर डेंगु संक्रमण तीव्र रुपमा फैलिँदै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार पुस मध्यदेखि हालसम्म २ हजार ९५२ जनामा संक्रमण पुष्टि भइसकेको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक सातामात्र १८० नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार वास्तविक संक्रमित सरकारी तथ्यांकभन्दा धेरै छन्, किनभने धेरैमा लक्षण नदेखिने वा परीक्षण नहुने अवस्था छ। बागमती प्रदेशमा सबैभन्दा धेरै २९८ संक्रमित छन्।
सन् २०२२ मा डेंगुले ८८ जनाको ज्यान लिएको थियो भने २०२४ मा ४१ हजारभन्दा बढी संक्रमित र १५ जनाको मृत्यु भएको थियो। यसवर्ष सबैभन्दा खराब अवस्थामा संक्रमित संख्या ६० हजार पुग्ने अनुमान गरिएको छ।
विज्ञका अनुसार सफा पानी जम्ने ड्रम, टायर, गमला, खाल्डाखुल्डी आदिमा एडिस लामखुट्टे प्रजनन गर्ने भएकाले ‘खोज तथा नष्ट अभियान’ नै प्रभावकारी उपाय हो। ज्वरो, पेट दुखाइ, रक्तस्राव, वान्ता, कालो दिसा, श्वास–प्रश्वासमा कठिनाइजस्ता लक्षण देखिए तुरुन्त अस्पताल जान सल्लाह दिइएको छ।












