काठमाडौं । विजया दशमीका मुख्य दिनहरूमा देशभर वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको दशैं विशेष बुलेटिन अनुसार टीकाको अघिल्लो दिन बुधबारदेखि वर्षा सुरु भई बिहीबारसम्म सातै प्रदेश प्रभावित हुने देखिएको छ ।

बुलेटिनअनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । त्यसैगरी, टीकाको दिन बिहीबार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्र, साथै कोशी प्रदेशका पहाड र तराईमा वर्षा हुने अनुमान गरिएको छ । मधेस र सुदूरपश्चिम प्रदेशका केही भाग पनि यसबाट प्रभावित हुनेछन् ।

मौसमविद्हरूका अनुसार टीकापछि अर्थात् शुक्रबारदेखि देशका केही भागमा मुसल्धारे वर्षा पर्न सक्ने देखिएको छ । सहप्राध्यापक विनोद पोखरेलले अहिले तीनवटा मौसमी प्रणाली विकसित भइरहेको बताउँदै यसको प्रत्यक्ष असर विशेषगरी पूर्वी नेपालमा तीनदेखि चार दिनसम्म रहने जानकारी दिएका छन् ।

यस्तै जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले असोज १८ गतेदेखि पूर्वी नेपाल हुँदै व्यापक वर्षा सुरु हुने पूर्वानुमान गरेका छन् । उनका अनुसार भारतको सिक्किम, पश्चिम बंगाल र बिहारमा १७ देखि १९ गतेसम्म तीव्र वर्षा भई सो मौसमी प्रणाली पश्चिमतर्फ सर्दै जाँदा असोज २० गतेसम्म नेपालका कोशी हुँदै लुम्बिनी र कर्णाली प्रदेशसम्म पुग्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0