शिवसताक्षी । झापा शिवसताक्षीमा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार हुने फाइनलबाट दुई विभागीय टोली—एपिएफ क्लब र नेपाल पुलिस क्लबले उपाधि हात पार्ने दावी गरेका छन् ।

आइतबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानहरूले आफ्नो टोली उपाधिका लागि पूर्ण तयारीमा रहेको बताए ।

एपिएफका प्रशिक्षक जिवेश पाण्डेले फाइनलमा अहिलेसम्म हार नखाएको भन्दै इतिहास कायम राख्ने दावी गरेका छन् । उनले भने “हाम्रो टोलीले कहिल्यै फाइनलमा हारेको छैन। यो पटक पनि उपाधि रक्षा गर्नेछौँ।”

उनकी कप्तान अनिता बस्नेतले थपिन्, “हामी सधैँ ट्रफीका लागि खेल्छौँ। झापाको मैदानमा पुलिसलाई रोक्दै अर्को उपाधि थप्नेछौँ।”

त्यसैगरी, नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिलवालले अनुभवी खेलाडी रेखा पौडेल र पूजा राना मगरको संयोजनलाई टोलीको मुख्य बल बताउँदै भने, “यो पटक हामी एपिएफलाई हराउँदै उपाधि जित्ने लक्ष्यमा छौँ।”

पुलिसकी कप्तान अमृता जैशीले पनि आत्मविश्वासका साथ भनिन्, “विगतमा हामीले एपिएफसँग धेरैपटक हार भोगेका छौँ, तर यस पल्ट ट्रफी लिएर फर्किनेछौँ।”

महिला फुटबलमा एपिएफ क्लब सफल र सशक्त टोलीका रूपमा चिनिन्छ। अधिकांश राष्ट्रिय प्रतियोगितामा उनीहरूले उपाधि जितेका छन्। त्यसका विपरीत, नेपाल पुलिस क्लब पछिल्लो समय बलियो स्क्वाड निर्माण गर्दै अघि बढिरहेको छ। रेखा पौडेल र पूजा राना मगरको पुनरागमनले टोलीमा नयाँ ऊर्जा थपिएको छ।

फाइनल खेलमा झापाका फुटबलप्रेमीहरूको ठूलो भीड हुने अनुमान गरिएको छ। देशभरका उत्कृष्ट महिला खेलाडीहरू एउटै मैदानमा भिड्ने अवसरका रूपमा दुधे रंगशाला सोमबार एक निर्णायक क्षणको साक्षी बन्नेछ।

भोलि हुने फाइनल व्यवस्थित बनाउन विभिन्न समितिहरु मार्फत काम गरिएको एलभिडी झापा महिला गोल्ड कप समितिले जनाएको छ । दर्शकको भीडलाई हेरेर सुरक्षा कर्मी परिचालन गरिने छ भने, दर्शकहरुलाई सहजरुपमा खेल अवलोकन गर्ने वातावरण मिलाउने गोल्डकप समितिको भनाई छ।

आयोजक समितिका अनुसार, टिकट दर सामान्यतर्फ रु. ३०० र ५०० तथा भिआइपीका लागि रु. १००० तोकिएको छ।
विजेता टोलीले रु. १० लाख १० हजार, उपविजेताले रु. ५ लाख, र सर्वोत्कृष्ट खेलाडीले रु. १ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, प्रशिक्षक र उच्च गोलकर्ताले जनही रु। २५ हजार, र प्रत्येक खेलको प्लेयर अफ द म्याचले रु. १५ हजार र ट्रफी प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0