काठमाडौं । श्रीलंकामा लगातारको भारी वर्षापछि उत्पन्न बाढी र पहिरोले व्यापक जनधनको क्षति पुर्याएको छ। यो हप्ताभर परेको वर्षाले देशका विभिन्न भाग प्रभावित बनेका छन्। अहिलेसम्म ५६ जनाले ज्यान गुमाएका छन् भने २१ जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।
डिजास्टर म्यानेजमेन्ट सेन्टर (डीएमसी) का अनुसार, चिया उत्पादनका लागि प्रसिद्ध बदुल्ला जिल्लामा राति गएको ठूलो पहिरोमा मात्र २१ जनाको मृत्यु पुष्टि गरिएको छ। सामाजिक सञ्जालमा रहेका दृष्यहरूमा बाढीले घर–बस्ती बगाएको देखिन्छ। विस्थापितका लागि सुरक्षित आश्रयस्थलहरू स्थापना गरिएको छ।
डीएमसीको पछिल्लो विवरणमा १७ जिल्लामा एक हजारभन्दा बढी घरपरिवार प्रभावित भएको उल्लेख छ। कम्तीमा १३१ जनालाई तत्काल सुरक्षित स्थानमा सारिएको छ भने तीन घर पूर्ण रूपमा ध्वस्त र ३८१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। १० जना घाइते रहेको पनि जनाइएको छ।
उद्धारकर्मीहरू जोखिम बढिरहेका क्षेत्रमा सक्रिय रहेका बेला, पूर्वी तटतर्फबाट आउँिरहेको ‘दित्वाह’ नामक चक्रवातले थप संकट निम्त्याउन सक्ने चेतावनी दिइएको छ। गहिरो दबाबबाट सुरू भएको यो प्रणाली तीव्र बनेर चक्रवातमा परिवर्तित भएको र भारतको पूर्वी तटमा पनि असर पार्न सक्ने अनुमान छ।
सडक तथा यातायात अवरुद्ध भइरहेका छन् भने निरन्तर वर्षालाई ध्यानमा राख्दै विश्वविद्यालयका परीक्षाहरू तीन दिनका लागि स्थगित गरिएको छ।
मध्य तथा पहाडी क्षेत्रमा अझै पहिरो र बाढीको जोखिम बढेको भन्दै अधिकारीहरूले जनतालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।












