शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकाको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना अन्तर्गत शिवसताक्षी–८ स्थित शान्तिटोलमा नयाँ आइपीएम (Integrated Pest Management) पद्धतिबाट तरकारी खेती सिकाइ कार्यक्रम सञ्चालन भएको छ ।
वैदेशिक रोजगारसँग प्रत्यक्ष रुपमा सम्बन्धित फिर्ती आप्रवासी, सम्भावित आप्रवासी तथा आप्रवासी परिवारका सदस्य गरी २५ जनाको सहभागितामा आप्रवासी सञ्जाल समूह गठन गरिएको छ। उक्त समूहलाई ‘शान्तिटोल आइपीएम कृषक पाठशाला’ नाम राखी १७ हप्ते तालिमअन्तर्गत आइपीएम प्रविधिबाट तरकारी खेती सम्बन्धी सैद्धान्तिक कक्षा तथा फिल्ड प्राक्टिकल एकैसाथ संचालन भइरहेको परियोजना परिचालक श्री चिरञ्जीवी लुइँटेलले बताए।

कार्यक्रममा सहभागी किसानले हाल टमाटर, काउली, खोर्सानी, प्याज, मटर, आलुलगायत तरकारी बालीबारे आवश्यक मल–बीउ, विरुवाको पोषण तत्त्व, शत्रु जीव–मित्र जीव पहिचान, रोपाइँ र हेरचाह विधि लगायतका सम्पूर्ण सीप सिकिरहेका छन्।
समूहको उत्साह र कारितास नेपालको आर्थिक तथा प्राविधिक व्यवस्थापनमा करिब ३ कट्ठा क्षेत्रफलमा सिँचाइको व्यवस्था गर्दै परम्परागत तरकारी खेती प्रणाली र नयाँ आइपीएम पद्धतिय खेती एउटै स्थानमा प्रयोग गरिएको छ। यसबाट उत्पादनमा देखिने फरकका आधारमा कृषकलाई नयाँ, सुरक्षित र दिगो प्रविधि हस्तान्तरण गर्ने उद्देश्य रहेको छ।
रसायनिक मल अत्यधिक प्रयोग नगरी पनि जैविक तथा आइपीएम पद्धतिबाट उत्कृष्ट उत्पादन लिन सकिने व्यावहारिक प्रमाण किसानहरूलाई देखाइँदै आएको छ। “नेपालमै बसेर मेहेनत गरे कृषि व्यवसायबाटै स्वरोजगार बन्न सकिन्छ, वैदेशिक रोजगार मात्र एकमात्र विकल्प होइन,” लुइँटेलले बताए।
उनका अनुसार, परम्परागत खेतीमा थोरै प्रविधिगत सुधार गर्न सके राम्रो उत्पादन लिन सकिने सन्देश किसानलाई दिइँदै असुरक्षित वैदेशिक रोजगारीका नाममा मानव तस्करीमा पर्न सक्ने जोखिमबारे जनचेतना फैलाउनु नै परियोजनाको मुख्य उद्देश्य हो।












