अर्जुनधारा । चार वर्षदेखि बिरामी रहेका अर्जुनधारा–२ का तिलबहादुर कडरीयालाई सचेत युवा समूहले संकलित सहयोग रकम तथा विभिन्न सामग्री हस्तान्तरण गरेको छ।
अर्जुनधारा–२ का युवाहरूले गठन गरेको सचेत युवा समूहको पहलमा विभिन्न सहयोगी दाताबाट उठाइएको १४ हजार रुपैयाँ नगद र आवश्यक सामग्री बिरामीको परिवारलाई बुझाइएको समूहका अध्यक्ष राजा साँवा लिम्बूले जानकारी दिएका छन्।
साँवाका अनुसार विदेशमा रहेका अर्जुनधारा–२ का तिर्थ राज भेटवाल, अर्जुनधारा–३ का मनु मगर तथा बेनु खवासले आर्थिक सहयोग उपलब्ध गराएका हुन्। यस्तै, जाडो मौसमलाई ध्यानमा राख्दै समूहले न्यानो कपडा र ब्ल्याङ्केट पनि प्रदान गरेको छ। अर्जुनधारा–३ का ढुण्डीराज गौतमले एक थान ढसना उपलब्ध गराएको समूहले जनाएको छ।
अध्यक्ष साँवाका अनुसार संकलित रकम र सामग्री औपचारिक रूपमा बिरामीलाई हस्तान्तरण गरिएको छ, जसले उपचारमा केही राहत पुग्ने विश्वास लिइएको छ।
सहयोग अभियानमा साथ दिने सबै दाताप्रति समूहले आभार व्यक्त गरेको छ। साथै, तिलबहादुर कडरीयाका लागि थप सहयोग आवश्यक रहेको भन्दै सचेत युवा समूहले इच्छुक दाताहरूसमक्ष सहयोगको अपिल पनि गरेको छ।












