दमक। राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीका सचिव कमल गैरे पुनः नेकपा एमालेमै फर्किएका छन्।

यसअघि सचिव पदबाट अलग हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका गैरे २४ घन्टा नबित्दै एमालेमै फर्किएको घोषणा गरेका हुन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको तस्बिर सार्वजनिक गर्दै आफू पुनः एमालेमा आबद्ध भएको जानकारी दिएका छन्।

गैरेले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्ट पार्दै विद्यार्थी जीवनदेखि नै आफू अनेरास्ववियु हुँदै राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीमा सदस्य, उपसचिव तथा सचिवको जिम्मेवारीमा रही पार्टीका गतिविधिमा सक्रिय रहँदै आएको बताएका छन्।

उनले पछिल्लो समय केही व्यक्तिको दबाब र प्रभावका कारण भावनात्मक रूपमा पार्टी परित्यागको अभिव्यक्ति दिएको स्वीकार गर्दै गहिरो सोच, अध्ययन र विश्लेषणपछि नेकपा एमाले नै राष्ट्र र जनताको आशा तथा भरोसाको केन्द्र रहेको निष्कर्षमा पुगेको उल्लेख गरेका छन्।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा बोकेको पार्टीमा विगतमा पनि यही थिएँ, आज पनि यही छु र भविष्यमा पनि यही रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले लेखेका छन्।

गैरेले दमक नगर, झापा क्षेत्र नम्बर ५ तथा समग्र राष्ट्रको विकासका लागि केपी शर्मा ओलीको नेतृत्व अपरिहार्य रहेको बताउँदै ओलीलाई जिताउने अभियानमा पार्टी तथा संगठनमै रही सक्रिय रूपमा लाग्ने संकल्पसमेत व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0