शिवसताक्षी । श्री आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दुधेको आयोजनामा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार संस्थाको कार्यालय दुधेमा आयोजना गरिएको कार्यक्रममा संस्थाका कर्मचारी तथा संस्थामा हालै आवद्ध भएका नयाँ सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहकारीको सञ्चालन प्रणाली, वित्तीय व्यवस्थापन, संस्थाको नीति तथा नियम, साथै संस्थाले हाल सञ्चालन गर्दै आएका कार्यक्रमहरूलाई कसरी अझ प्रभावकारी र सदस्य–केन्द्रित बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी गराइएको थियो। संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलका अनुसार कार्यक्रम सहभागीहरूका लागि सहकारीप्रतिको बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो।
अन्तरक्रियाका क्रममा सहभागीहरूले वित्तीय व्यवस्थापन तथा सहकारी सञ्चालनसम्बन्धी विविध जिज्ञासा राखेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष विष्णुलाल भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूलाई मायाको चिनो समेत प्रदान गरिएको संस्थाले जनाएको छ।

यसैबीच, संस्थाले शिवसताक्षी नगरपालिका वडा नं. ४, रंयाथानमा सदस्य शिक्षा कार्यक्रम पनि सम्पन्न गरेको छ। उक्त कार्यक्रममा सदस्यहरूलाई सहकारीको उद्देश्य, वित्तीय अनुशासन, बचत तथा ऋण व्यवस्थापन र सदस्यका अधिकार तथा दायित्वबारे जानकारी गराइएको थियो।
सदस्य शिक्षा कार्यक्रममा संस्थाको बोलोचोक सेवा केन्द्रअन्तर्गतका ५० जना सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष विष्णुलाल भट्टराई तथा शिक्षा उपसमिति संयोजक नरपाति पाठकले गर्नुभएको थियो।
संस्थाले यस्ता कार्यक्रमहरूले सदस्यहरूको क्षमता अभिवृद्धि हुनुका साथै सहकारीप्रति विश्वास र उत्तरदायित्व बढ्ने विश्वास व्यक्त गरेको छ। सदस्य शिक्षा कार्यक्रमको स्वागत सस्थाका उपाध्यक्ष यादव गिरीले गर्नु भएको थियो । व्यवस्थापन लेखा प्रमुख चन्दककला श्रेष्ठले र सञ्चालन प्रकाशचन्द्र पोख्रलेले गर्नु भएको थियो ।












