झापा । झापाको कनकाई नगरपालिका–३, सुरुङ्गास्थित ग्रामीण क्षेत्रलाई जोड्ने टप्पु–चम्पापुर सडक खण्डको कालोपत्रे निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। लामो समयदेखि धुलो र हिलोको सास्ती खेप्दै आएका स्थानीयवासीका लागि यो सडक निर्माण आशाको नयाँ आधार बनेको छ।

विगत केही वर्षदेखि जिर्ण बन्दै गएको कच्ची सडकका कारण हिउँदमा धुलो र वर्षायाममा हिलोले जनजीवन अत्यन्त कष्टकर बनेको थियो। तर झापा क्षेत्र नं. ४ का निवर्तमान संघीय सांसद एल.पी. साँवा लिम्बूको पहल र नेतृत्वमा २०७४ सालयता सुरु भएका विकास योजनाले यस क्षेत्रको मुहार फेरिन थालेको स्थानीयवासी बताउँछन्। सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र सामुदायिक पूर्वाधारमा भएका कामले प्रत्यक्ष परिवर्तन ल्याएको उनीहरूको भनाइ छ।

कनकाई–३ टप्पु निवासी गोमा उप्रेतीका अनुसार, “पहिले धुलोले घर बाहिर निस्कनै गाह्रो हुन्थ्यो, बजार गएर फर्कँदा बिरामी हुने अवस्था थियो। तर अमरपथ सडक चारलेनमा कालोपत्रे भएपछि दैनिकी नै परिवर्तन भएको छ।” उच्चस्तरीय सडक निर्माणपछि घरआँगन सफा रहनुका साथै स्वास्थ्य समस्यामा समेत क्रमिक सुधार आएको उहाँको अनुभव छ।

स्थानीयवासीका अनुसार अमरपथ सडक वरपर पहिले सयौँ घरधुरी धुलोका कारण टाउको दुख्ने, रुघाखोकी, ज्वरो जस्ता समस्याबाट पीडित थिए। अहिले सो सडक हरियाली, फुलबारी र व्यवस्थित संरचनासहित नमूना मार्गको रूपमा विकसित हुँदै गएको छ।

सुरुङ्गा, शरणमती, कामाटोली, कुमरखोद हुँदै भारतको सीमाक्षेत्र डिगलबैंकसम्म सडक कालोपत्रे भएसँगै यस क्षेत्रको व्यापार–व्यवसाय, यातायात र आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि भएको स्थानीय व्यवसायीहरू बताउँछन्।

हाल निर्माणाधीन टप्पु चोकदेखि एकान्त टोल हुँदै चम्पापुरसम्मको करिब १५ सय मिटर सडक सुरुङ्गा खोलाको पुलसम्म कालोपत्रे भइरहेको छ। सडकको अवस्था अनुसार ८ देखि ९ मिटर चौडाइमा (ड्रेन टु ड्रेन) ४० एमएमको उच्चस्तरीय अस्फाल्ट कालोपत्रे निर्माण कार्य भइरहेको उपभोक्ता समितिले जनाएको छ।

स्थानीय युवा दीपेन्द्र भट्टराईका अनुसार, सडक अत्यन्त बिग्रिएपछि स्थानीयवासीले सांसद साँवासँग मागपत्र बुझाएका थिए। “स्थानीयको मागलाई गम्भीर रूपमा लिएर उहाँकै पहलमा संघीय सरकारको बजेटबाट भ्याट बाहेक २ करोड १६ लाख रुपैयाँमा सडक निर्माण सुरु भएको हो,” भट्टराईले बताए।

यो सडक खण्ड भएर कनकाई मात्र होइन, बिर्तामोडतर्फका एक दर्जनभन्दा बढी विद्यालय, क्याम्पसका बस, दूध बोक्ने गाडी, अटो, सफारी, मोटरसाइकललगायत सयौँ सवारीसाधन दैनिक आवतजावत गर्ने स्थानीय व्यवसायी उमेश उप्रेती बताउँछन्। कालोपत्रेपछि यातायात तथा जनजीवन दुवै सहज हुने उहाँको भनाइ छ।

निवर्तमान सांसद साँवाले आगामी दुई वर्षभित्र चम्पापुर हुँदै बिरिङ खोलामा पुल निर्माण गरी घैलाडुबा बजारसम्म सडक जोड्ने पहल गर्ने प्रतिबद्धता जनाएका छन्। टप्पु–चम्पापुर सडक निर्माणको ठेक्का पाएको एलेक्स कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक डम्बर फुयाँलले स्थानीय सडक भएकाले गुणस्तरमा कुनै सम्झौता नगर्ने बताए। दुबै तर्फ ड्रेनसहित उच्चस्तरीय कालोपत्रे सडक निर्माण हुने उहाँको भनाइ छ।

स्थानीय ज्येष्ठ नागरिक चोलारमण चापागाईंका अनुसार, “एक सांसदको हैसियतमा एल.पी. साँवाले विकास निर्माणमा नेतृत्वदायी भूमिका खेलेका छन्। उहाँको कार्यशैलीले जनताको भरोसा जितेको छ।”

विगत दुई कार्यकालमा सडक, ढल, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि र सामुदायिक भवन निर्माणमा भएका उल्लेखनीय कामले झापा क्षेत्र नं. ४ लाई विकासको पहिचान दिलाएको स्थानीयवासीको ठहर छ। जनताको मागलाई आफ्नै समस्या सम्झेर समाधान गर्ने साँवाको शैली प्रशंसनीय रहेको उनीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0