शिवसताक्षी । शिवसताक्षी नगरपालिका ले नगरभित्रका सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ। चालु आर्थिक वर्षमा नगरपालिकाले विभिन्न वडामा सडक निर्माण तथा कालोपत्रे गर्ने काम धमाधम अघि बढाएको हो।

नगरपालिकाका अनुसार दुधे–शिवगञ्ज सडक अन्तर्गत थप ६ सय मिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ। त्यस्तै नगरको गौरवको आयोजनाका रूपमा अघि बढाइएको रिङ्गरोड परियोजना अन्तर्गत वडा नं. ४ मा ७३५ मिटर र वडा नं. १० मा १ किलोमिटर सडक निर्माणको काम जारी रहेको छ।

वडा गौरवका योजनाअन्तर्गत विभिन्न स्थानमा सडक कालोपत्रे गर्ने कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ। जसअनुसार वडा नं. १० को ट्याक्रामा ३०० मिटर, वडा नं. ४ मा ४२० मिटर, वडा नं. १ मा माझी गाउँदेखि लक्ष्मीनारायण विद्यालयसम्म ३४२ मिटर तथा वडा नं. २ मा मोती माध्यमिक विद्यालयबाट मंगलबारे बजार जोड्ने ४१० मिटर सडक कालोपत्रेका लागि काम सुरु गरिएको छ।

त्यसैगरी वडा नं. ९ र १० को आइतबारेबाट माइधार जोड्ने रिङ्गरोड अन्तर्गत १०५० मिटर सडक निर्माण कार्य पनि अघि बढाइएको छ।

नगरप्रमुख मेगाहाङ थोप्रा ले सडक कालोपत्रेका लागि नगरवासीको माग अत्यधिक रहेको भन्दै बजेटले भ्याएसम्म यस वर्ष धेरै सडक निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो।

उहाँले भन्नुभयो, “नागरिकका विभिन्न समस्या भए पनि सडक निर्माणको माग पहिलो प्राथमिकतामा परेको छ। आर्थिक वर्ष २०८२/०८३ मा समयमै काम सम्पन्न गर्ने लक्ष्यसहित मंसिर महिनादेखि नै सडक निर्माणको काम सुरु गरेका छौँ। केही सडक कालोपत्रे भइसकेका छन् भने धेरै सडक कालोपत्रे गर्ने चरणमा छन्।”

यसैबीच वडा नं. ९ स्थित झरना खोला पश्चिमबाट दक्षिण सुन्दरपुर, मोरङ्गे खाडी हुँदै नगरको रिङ्गरोड जोड्ने २७०० मिटर सडक कालोपत्रेका लागि काम सुरु गरिएको छ। नगरपालिकाका अनुसार उक्त सडकमा हाल सब–बेसको काम सम्पन्न भइसकेको छ। सो सडक सहरी विकास मन्त्रालय अन्तर्गत करिब ३ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको हो।

त्यस्तै तीनकुने चौकदेखि मंगोलियन चौक हुँदै रिङ्गरोड जोड्ने २२४० मिटर सडक पनि करिब ३ करोड रुपैयाँको लागतमा निर्माण कार्य अघि बढाइएको छ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बाट विनियोजित ३ करोड रुपैयाँको बजेटबाट शिवसताक्षी–८ सम्झना चौक देखि मायालु चौक जोड्ने २२०० मिटर सडक कालोपत्रेका लागि ठेक्का भई निर्माणाधीन अवस्थामा रहेको छ।

यसैगरी विकास चौक दक्षिण संगम चौक, प्रगति चौक हुँदै मंगलबारे जोड्ने २५०० मिटर सडक पनि करिब ३ करोड रुपैयाँको लागतमा निर्माणाधीन रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले आगामी दिनमा पनि नागरिकको आवश्यकता अनुसार सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै थप सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने योजना अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0