काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार, तथ्यहीन र राष्ट्रिय हितविपरीत रहेको बताएका छन् ।

आचार्यले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले संसद्को रोस्ट्रमबाट ‘नेपालले पनि अरूको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनु अत्यन्तै खेदजनक रहेको उल्लेख गरेका छन् । उनका अनुसार ऐतिहासिक दस्तावेज, नक्सा र तथ्यहरूले नेपालको भूमि अतिक्रमणमा परेको विषयलाई स्पष्ट रूपमा देखाउने भएकाले प्रधानमन्त्रीको भनाइले भ्रम सिर्जना गरेको छ ।

उनले आफ्नो देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने जिम्मेवारीमा रहेको नेतृत्वबाट नेपाललाई नै दोषी देखाउने अभिव्यक्ति आउनु राष्ट्रिय हितमाथिको गम्भीर आघात भएको बताएका छन्।

एमालेले उक्त भनाइले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, इतिहास तथा सीमासम्बन्धी अध्ययन-अनुसन्धानमा संलग्न विज्ञहरू र आम नेपाली जनताको भावनामाथि चोट पुगेको जनाएको छ। राष्ट्रिय स्वाधीनता र सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति अपरिपक्व र भ्रमपूर्ण रहेको एमालेको ठहर छ ।

एमालेले प्रधानमन्त्रीको उक्त भनाइ सच्याउँदै सरकारलाई संसद् तथा आम जनतासमक्ष स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ। साथै, राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा कुनै पनि प्रकारको अस्पष्टता वा सम्झौता स्वीकार्य नहुने एमालेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0