शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकासँगको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखनविरुद्धको सशक्तीकरण परियोजनाअन्तर्गत शिवसताक्षी नगरपालिका–४ विश्वडुब्बामा एकदिने वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने तथा वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासीलाई स्थानीय स्तरमै पुनःस्थापना गर्न सहयोग पुर्याउने उद्देश्यले आयोजित तालिममा वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्य, फिर्ती आप्रवासी, नवगठित आप्रवासी सञ्जाल समूहका सदस्य तथा स्थानीय समुदायका अन्य व्यक्तिहरूको सहभागिता रहेको थियो। उक्त समूहलाई ‘विश्वडुब्बा आईपीएम कृषक पाठशाला’ नामकरण गरिएको छ।
परियोजना परिचालक चिरञ्जीवी लुइँटेलका अनुसार तालिमको मुख्य उद्देश्य सहभागीलाई वित्तीय रूपमा सबल बनाउनुका साथै बचत गर्ने बानीको विकास गराउनु रहेको थियो। तालिममा आयअनुसार खर्चको व्यवस्थापन, आवश्यकता र इच्छाबीचको फरक पहिचान, खर्च गर्नुअघि निश्चित रकम बचत गर्ने बानी, बचतको महत्व, वित्तीय लक्ष्य निर्धारण, पारिवारिक बजेट निर्माण, ऋणको उचित व्यवस्थापन, उत्पादनशील क्षेत्रमा लगानी, रेमिटेन्स व्यवस्थापन तथा बीमालगायतका विषयमा जानकारी दिइएको थियो।

तालिममा भविष्यका लागि समयमै वित्तीय योजना बनाएर अनावश्यक खर्च नियन्त्रण गर्दै बचत गर्ने बानीको विकास गर्न सहभागीलाई प्रेरित गरिएको थियो। बचत गरिएको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गरी स्वरोजगार तथा उद्यमशीलतातर्फ अघि बढ्न सकिने विषयमा समेत प्रशिक्षण दिइएको थियो।
‘जति कमाए पनि बचत गर्न सकिएन भने आवश्यक परेको समयमा आर्थिक समस्या आउन सक्छ’ भन्ने विषयलाई जोड दिँदै सहभागीलाई आम्दानीको केही हिस्सा नियमित रूपमा बचत गर्नुपर्नेमा सचेत गराइएको थियो। अनावश्यक खर्च पहिचान गरी आवश्यक क्षेत्रमा मात्र खर्च गर्ने, बचतलाई अनिवार्य बनाउने र बचत रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने तालिमको मुख्य सन्देश थियो।
तालिममा समूहका सदस्यसहित ३७ जनाको सहभागिता रहेको थियो। शिवसताक्षी नगरपालिका–४ विश्वडुब्बामा आयोजित कार्यक्रम वडा नं. ४ का परियोजना सल्लाहकार समिति सदस्य सुन्दरलाल राजवंशीको अध्यक्षतामा सम्पन्न भएको हो। तालिमको सहजीकरण बिर्तामोडका सहजकर्ता लोकप्रिय खनालले गरेका थिए।












