झापा । झापाको शिवसताक्षी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण विद्यालयमा शुक्रबार एक दिन बिदा दिने निर्णय गरेको छ। पछिल्लो मौसम पूर्वानुमानअनुसार आगामी केही दिन वर्षाको उच्च सम्भावना रहेकाले विद्यार्थीको सुरक्षा र आवतजावतमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा शिक्षा तथा खेलकुद मन्त्रालयको मिति २०८३ असोज ७ गतेको सार्वजनिक सूचनासमेतलाई आधार बनाएर नगरपालिकाले यस्तो निर्णय गरेको हो।
मौसम पूर्वानुमानअनुसार २०८३ असोज ८ गतेदेखि ११ गतेसम्म वर्षाको उच्च सम्भावना रहेकाले विशेषगरी भारी वर्षाका कारण हुन सक्ने बाढी, डुबान, सडक तथा पुलमा आउन सक्ने समस्या लगायतका सम्भावित विपद्बाट विद्यार्थी तथा विद्यालय आवतजावतमा थप जोखिम हुन सक्ने नगरपालिकाको भनाइ छ।
नगरपालिकाले सम्भावित जोखिम न्यूनीकरण तथा विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राख्दै २०८३ असोज ९ गते शुक्रबार एक दिन नगरपालिकाअन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
उक्त बिदा हिउँदे/बर्खे बिदाबाट कट्टा हुने गरी दिइएको नगरपालिकाले स्पष्ट पारेको छ। मौसमको अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यार्थी, अभिभावक तथा विद्यालय प्रशासनलाई आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।
नगरपालिकाले मौसमजन्य विपद्को सम्भावना रहेको अवस्थामा विद्यार्थीको सुरक्षा पहिलो प्राथमिकता भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ।













