बाँके । बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा लागेको मेलामा दुई समूहबीच झडप भएपछि प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख (एसपी) अंगुर जिसीका अनुसार झडप नियन्त्रणमा लिन प्रहरीले बिहान करिब ३ः४५ बजे इन्सास राइफलबाट ८ राउण्ड हवाई फायर गरेको हो ।
चिसापानीमा लागेको मेलामा राति आगो तापेर बसिरहेका दुई समूहका युवाबीच विवाद सुरु भएपछि झडप भएको थियो । विवादले उग्र रूप लिँदा दुवै पक्षबीच ढुंगामुढा हानाहान हुनुका साथै अगुल्टोसमेत प्रहार भएको बताइएको छ ।
झडप नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि समेत आक्रमण भएको थियो । आक्रमणमा परी प्रहरी सहायक निरीक्षक (सई) सहित चार जना प्रहरी कर्मचारी घाइते भएका छन् ।
दुई पक्षबीचको झडपले थप उग्र रूप लिँदै मानवीय क्षति हुन सक्ने अवस्था देखिएपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।












