काठमाडौं – अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ लामा रहेको खुलेको छ । काठमाडौंको झोर क्षेत्रबाट पक्राउ परेका उनको साथबाट डलर र युरो लगायत मुद्रा बरामद भएको प्रहरीले जनाएको छ ।
अमेरिकी डलर र युरोसहित ना.७ ख १६५२ नम्बरको सोनी ट्रान्सपोर्ट लेखिएको मालवाहक ट्रकको चालक ‘फुच्चे’ भनिने लामालाई पक्राउ गरिएको थियो ।
सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका वडा नम्बर ०१ बस्ने ४३ बर्षका उनलाई हिजोराती ११ बजे काठमाडौंको टोखा नगरपालिका ०२ झोरबाट अवैध युरो तथा डलर रसुवागढी नाका हुँदै छिमेकी राष्ट्र चीन लगिँदैछ भन्ने सूचनाका आधारमा पक्राउ गरिएको थियो ।
मालबाहक ट्रकमा शंका लागि रोकी थप अनुसन्धानको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याई खानतलासी गर्दा उक्त ट्रकको ‘वोनोट’ अर्थात ड्राइभर बस्ने कोठा (क्याबिनको बायाँ तर्फको) माथिल्लो भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको विदेशी मुद्राहरु फेला परेको हो ।
कुसाङ लामा चालक भई भरियाको रुपमा काम गरिरहेको भन्ने प्रारम्भिक बयानबाट बुझिन आएको प्रहरीले जनाएको छ । उनीबाट करिब २५ करोड रुपैंयाँ बरामद गरिएको जनाइएको छ ।












