काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टिमले आज सिंगापुरसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दै छ। एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले ३६ वर्षपछि सिंगापुरसँग खेल्न लागेको हो।
सिंगापुर नेसनल स्टेडियममा साँझ ६:१५ मा सुरु हुने खेलमा नेपाल आफ्नो नवनयुक्त प्रशिक्षक म्याट रसको प्रशिक्षणमा मैदान उत्रिने छ।
नेपालले १९८९ मा विश्वकप छनोट अन्तर्गत दुई खेल खेलेको थियो। पहिलो खेल अर्थात २७ मे १९८९ मा भएको फिफा विश्वकप छनोटमा नेपाल ३-० ले पराजित भएको थियो भने पछिल्लो पटक अर्थात ५ जुन १९८९ मा भएको विश्वकप छनोटकै दोस्रो खेलमा नेपाल ७-० ले पराजित भएको थियो।
त्यसयताका ३६ वर्षमा एकअर्का विरुद्ध भिड्न नपाएका यी दुई टिम आज मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन्।
त्यसअघि नेपालले पहिलो पटक किंग्स कपमा ५ मे १९८२ मा प्रतिस्पर्धा गरेको थियो। जुन खेलमा नेपाल २-० ले हारेको थियो। त्यसको अर्थ अहिले सम्म भएका कुल ३ भिडन्तमा नेपाल गोलविहीन रहँदै पराजित भएको छ। नेपालले कुल १२ गोल खाँदा सिंगापुरको पोस्टमा गोल गर्न सकेको छैन्।
फिफा वरियतामा नेपाल भन्दा १५ स्थानमाथि अर्थात १ सय ६० औं स्थानमा रहेको सिंगापुरविरुद्ध नेपाल ऐतिहासिक जित निकाल्ने लक्ष्यमा रहेको छ। आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा प्रशिक्षक म्याट रसले उत्कृष्ट खेल पस्किने विश्वास लिएका छन्।












