मेचीनगर । सोमबारदेखि सेवाग्राहीले मेचीनगर नगरपालिकामा कर तिर्न जाँदा नगद पैसा बोकेर जाने झनझटबाट मुक्ति पाउने भएका छन् । मेचीनगरको १५ वटै वडा र नगरपालिकाको कार्यालयमा करदाताले कर तिर्न आउँदा क्यूआरदेखि सहजै भुक्तानी गर्न सकिने भएको छ ।
नगरपालिकाको राजश्वको सफ्टवेयर सफटेक् इनफोसीसको माध्यमबाट डाइनामिक क्यूआर मार्फत करदाताले कर तिर्न सकिने छ । डाइनामिक क्युआर कोडको सिस्टमको सुरुवात हुने वित्तिकै करदाताका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य हुने राजश्व परामर्श समितिकी संयोजक समेत रहेकी उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले करदाताका लागि यस्तो सुविधा उपलब्ध गराउने तयारी गरिएको बताए । मेचीनगरमा दीर्घकालीन सेवा र परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन पेमेन्ट गर्ने र नगरपालिकालाई पेपरलेस बनाउन नयाँ सुविधा थप गरिएको उनको भनाई छ ।
यही चैत १८ गतेदेखि सुरु हुने डाइनामिक क्यूआरका लागि १५ वटै वडाका वडा सचिव, वडाका राजश्वका कर्मचारी र नगरपालिका कार्यालयका दश जना कर्मचारी समेत गरी ४० जना कर्मचारीलाई राजश्व व्यवस्थापन सम्बन्धि आजदेखि तीन दिनसम्म अभिमुखीकरण कार्यक्रम दिइएको छ ।
अभिमुखीकरण कार्यक्रमको उद्घाटन उपप्रमुख उप्रेतीले गरेकी थिइन् । कार्यक्रममा उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले गरेका थिए ।
सहभागी कर्मचारीहरुलाई सफटेक् इनफोसीसका विज्ञ दिनेश घिमिरेले प्रविधिमैत्री प्रशिक्षण दिइरहेको उनले जानकारी दिए । उनले भने–‘करदाताको आफ्नै डाइनामिक क्यूआर कोड बन्ने छ । त्यहि आफ्नै क्यूआरबाट कर तिर्न । तिर्न कति बाँकी । कति कर तिर्यो । सबै हेर्न मिल्छ ।’












