धनकुटा । धनकुटामा जारी शहीद भीमनारायण गोल्डकपमा साविक विजेता बिर्तामोड युनाइटेड क्लब विजयी भएको छ।

मंगलबार धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा चित्लाङ फुटबल क्लब काठमाडौँलाई ३–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको ४५ औं मिनेटमा बिर्तामोड युनाइटेड क्लबका अभिषेक गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

यस्तै खेलको ५८ औं विशाल भण्डारी र खेलको ६३ औं मिनेटमा गिल्सन कन्दङ्वाले गोल गरेर बिर्तामोडलाई खेललाई ३–० अवस्थामा पुर्‍याएका थिए। यस्तै खेलको ७० औँ मिनेटमा चित्लाङ फुटबल क्लबको लागि विदेशी खेलाडी डोकुले सान्त्वना गोल गरे।

चित्लाङ फुटबल क्लबले गोल गर्ने धेरै अवसर गुमाउँदा पराजित भएको हो। खेलको म्यान अफ द म्याच विजेता टिम बिर्तामोडका कप्तान गिल्सन कन्दङ्वा घोषित भए। उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत बुधबार विभागीय क्लब सशस्त्र प्रहरी बल काठमाडौँ र बेलबारी फुटबल क्लब मोरङबीच पहिलो चरणको अन्तिम खेल हुने आयोजकले जनाएको छ। यसअघि नमोबुद्ध युथ फुटबल क्लब सप्तरी र गाईघाट फुटबल क्लब उदयपुर सेमिफाइनलमा पुगिसकेका छन्।

चैत २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहेको छ।

२०५५ सालमा स्थापित गोल्डकप २०६३ सालपछि नियमित हुँदै आएको छ। भीमनारायण श्रेष्ठलाई २०३५ सालमा गोली हानी हत्या गरिएको थियो। सरकारले श्रेष्ठलाई २०७३ सालमा राष्ट्रिय शहीद घोषणा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0