शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ मा जेष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आयुर्वेदिक औषधि वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले आयुर्वेद चिकित्सा पद्धति पुरानो भएकाले विशेष बृद्धा बृद्धाहरुलाई जडिबुटी जन्य औषधिहरुको सेवनले राम्रो गरेको पाइएको बताउनु भयो ।
ज्येष्ठ नागरिकहरुलाई इम्युनिटी पावर बढाउने, रोग प्रतिरोधात्मक औषधिहरु सेवन गर्न सुझाव दिदै उहाँले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा १०० जना जेष्ठ नागरिकलाई रोगप्रतिरोधात्मक जडिबुटीजन्य आयुर्वेदिक औषधि वितरण गरिएको थियो ।
औषधि वितरणसँगै कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो। स्वास्थ्य परीक्षण अन्तर्गत सुगर जाँच, रक्तचाप (प्रेसर) मापन तथा सामान्य स्वास्थ्य परीक्षण गरी स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।
कार्यक्रममा अश्वगन्धा चुर्ण, आमलकी चुर्ण र अमृत चिया वितरण गरिएको थियो। यस्ता जडिबुटीजन्य औषधिले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामुदायिक अगुवा तथा जेष्ठ नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सहभागीहरूले यस्ता कार्यक्रमले जेष्ठ नागरिकमा हौसला थपेको र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि भएको अनुभव सुनाएका थिए।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । वडाध्यक्ष डिल्लीलाल फेम्बुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दुधे आयुर्वेद शाखाका प्रमुख कबिराज निरीक्षक राजेन्द्र पोख्रेलले गर्नुभएको थियो।












