शान्तिराम बस्नेत

शिवसताक्षी । शिवसताक्षीको शिवगञ्जमा रहेको नवकिरण विद्या मन्दिरले विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक ¥याली सम्पन्न गरेको छ ।

शैक्षिक उत्कृष्टता मात्र नभई सामाजिक उत्तरदायित्व र वातावरणीय चेतनामा समेत सदैव अग्रपंक्तिमा रहने उक्त विद्यालयले ५३औँ विश्व वातावरण दिवसको अवसरमा एक भव्य र प्रेरणादायी जनचेतना ¥याली सम्पन्न गरेको छ । “प्लास्टिक प्रदूषण अन्त्य गरौं” भन्ने मूल नाराका साथ आयोजित सो ‍¥याालीले बजारवासीलाई वातावरण संरक्षणप्रति गहिरो सन्देश प्रदान ग‍रेको छ ।

करीब २ दशक अघि स्थापना भएको उक्त विद्यालयले केवल पाठ्यपुस्तकमा सीमित नभई चरित्र, चेतना र समर्पणका आधारमा विद्यार्थी उत्पादन गर्दै आएको छ । यही भावनाबाट प्रेरित भई विद्यालयले वातावरणीय संकटबारे समाजमा जागरूकता फैलाउन यो र्‍यालीको आयोजना गरेको हो।

विद्यालय प्राङ्गणबाट सुरु भई शिवगञ्ज बजारमा गरिएको उक्त ¥यालीमा विद्यार्थीहरुले प्लाष्टिक प्रदुषण अन्त्य गरौं, प्लाष्टिक होइन, प्रकृति रोजौं, पृथ्वी हाम्रो घर हो यसलाई सफा राखौं, हरियाली फैलाऔं–प्रदुषण हटाऔं, हाम्रो पृथ्वी हाम्रै भविष्य जस्ता सन्देशमूलक नाराहरू गुञ्जिएका थिए भने आकर्षक प्लेकार्ड बोकेर हर्षोल्लासपूर्वक जनमानसलाई सजग बनाउँदै हिँडेको समेत देखिन्थ्यो । विद्यार्थीहरूमा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, र व्यवहारिक शिक्षाको भावना समेत बलियो बनाएको छ ।

¥यालीमा कक्षा ५ देखि १० सम्मका करिब २ सय बढी विद्यार्थीको सहभागिता रहेको थियो भने ¥याली पश्चात विद्यार्थीहरुले कक्षागत रुपमा विद्यालय हाताभित्र वृक्षारोपण समेत गरेका छन् । अशोका, रुद्राक्ष लगायतका ५० भन्दा बढी विरुवाहरु विद्यालय प्राङ्गणमा लगाउँदा विद्यार्थीहरुमा उत्साह, उमङ्ग, आफूमा जिम्मेवारीवोध र प्रकृतिप्रतिको माया सम्मानको भाव झल्किएको देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0