शिवसताक्षी । पछिल्लो समय झापाको शिवसताक्षी नगरपालिकाका महिलाहरू स्वरोजगार र आत्मनिर्भर बन्ने लक्ष्यका साथ व्यावसायिक ड्राइभिङ पेशातर्फ आकर्षित भएका छन्। महिलाहरूलाई सीपमूलक बनाउन नगरपालिकाले सञ्चालन गरेको ड्राइभिङ तालिमबाट २८ जना महिलाहरू लाभान्वित भएका छन्।
नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजना र नेम्वाङ ड्राइभिङ सेन्टरको समन्वयमा बैशाख २० गतेदेखि सुरु गरिएको तालिम आज सम्पन्न भएको हो। समापन कार्यक्रममा नगरप्रमुख मेघाहाङ थोप्रा र प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले सहभागी महिलाहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।
नगरप्रमुख थोप्राले महिलाहरूको सीप विकास र आर्थिक सशक्तिकरणका लागि नगरपालिका सधैं तत्पर रहेको बताउनुभयो। उहाँले महिलाहरूले आत्मनिर्भर बन्ने प्रयासले समाजमै सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो।
महिला तथा बालबालिका शाखा प्रमुख देविना पराजुलीका अनुसार तालिममा सहभागीमध्ये १३ जना महिलाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गरिसकेका छन् भने बाँकी महिलाहरू पनि लाइसेन्स प्रक्रियामा रहेका छन्।












