शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–९ का १५ वर्षीय आदित्य तामाङ र १९ वर्षीय रोमन थापाको कुटपिटबाट ज्यान गएको आंशका गरिएको छ ।

मंगलबार भर्खरै निधन भएका रोमनको शवको मलामी सकिन नपाउँदै आदित्यको पनि बुधबार बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ।

केही दिनअघि ट्युसन पढेर फर्कँदै गरेका आदित्य तामाङमाथि ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीहरूले बाटोमै कुटपिट बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार पहिलो पटक सामान्य कुटपिट गरेर जा भनेर पठाइए पनि केहीबेरपछि फेरि बोलाएर उनीमाथि निर्घात कुटपिट गरिएको थियो।

साथीहरूका अनुसार कुटपिटपछि आदित्यले घरमा केही बताएका थिएनन्। कुटपिट भएको भोलिपल्ट ट्युसन जान छाडे पनि विद्यालय भने गएका थिए। विद्यालयमा अनुहार सुन्निएको र ढाड दुखेको बताएका थिए। अवस्था झन् गम्भीर भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।

बिएन्डसी अस्पतालमा बुधबार दिउँसो उपचारकै क्रममा आदित्यको ज्यान गएको अस्पताल स्रोतले पुष्टि गरेको छ। यसअघि आइतबार आदित्यका मिल्ने साथी रोमन थापाको पनि बिर्ता सिटी अस्पतालमा निधन भएको थियो। रोमन र आदित्य दुवै संगमचोक क्षेत्रका बासिन्दा र एकै ट्युसन सेन्टरका साथी थिए।

दुवै किशोरको शारीरिक लक्षण मिल्दोजुल्दो रहेको परिवारले बताएको छ। सुरुवातमा छाती र ढाड दुखेको, पछि श्वासप्रश्वासमा समस्या देखिएको र अन्ततः निधन भएको विवरण दुबै परिवारको एउटै छ। यसले उनीहरू एउटै घटनामा परेको आशंका बलियो बनाएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा संलग्न भएको आशंकामा ६ जना किशोरलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरूले घटनामा संलग्नता स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ। कुटपिटको आरोपमा शिवशताक्षी नगरपालिका वडा नम्बर ९ संगमचोकका १५ वर्षीय आदित्य तामाङ लाई कुटपिट गर्ने ६ जना पक्राउ परेका छन् । कुटपिटको कारण, योजना र थप संलग्नता सम्बन्धी अनुसन्धान जारी रहेको बताइएको छ।

मृतक आदित्य र रोमन दुवैको परिवारले निष्पक्ष छानबिन र दोषीलाई कडा कानुनी कारबाहीको माग गरेका छन्।स्थानीय अध्यक्ष धनबहादुर थेबेले पनि घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन जोड दिएका छन्।

स्थानीय बासिन्दा र विद्यार्थीहरू घटनाबाट स्तब्ध छन्। विद्यालय परिसरदेखि गाउँका गल्लीसम्म अहिले शोक र आक्रोश दुवै छ। साथीहरूको भनाइ अनुसार आदित्यले कुटपिटको भोलिपल्ट पनि “अब झगडा नगरौं, छोडिदेऊ” भनेका थिए। तर आज उनी आफैं यो संसारमा रहेनन्।

मृतक परिवार र स्थानीय बासिन्दाले मानवअधिकारकर्मी र सञ्चारमाध्यमहरूलाई घटनाको सत्य तथ्य बाहिर ल्याउन अपिल गरेका छन्। ‘न्याय पाउनु हाम्रो अधिकार हो,’ मृतक रोमनका बुबा चन्द्रबहादुर थापाले भने, ‘छोराहरूको आत्मा शान्ति तब मात्रै पाउनेछ, जब दोषीहरू कानुनी दायरामा आउँछन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0