शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दुधेमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती मनाइएको छ। सताक्षीधाम साहित्य सङ्गमको आयोजनामा भएको कार्यक्रममा साहित्य, संगीत र रामायाणलाई संगीतबद्ध गरी प्रस्तुत गरिएको थियो ।

सङ्गमका उपाध्यक्ष पदमप्रसाद दाहालले भानुभक्त आचार्यको योगदानमाथि प्रकाश पार्दै उनको साहित्यिक धरोहर नेपाली भाषाको उन्नतिमा ऐतिहासिक रहेको बताए। पत्रकार छबिलाल दवाडीले रामायण वाचन गरे भने यदुनाथ दाहाल र रेवत खनालले सांगीतिक ढङ्गमा रामायणको गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा गङ्गाराम खनाल, हाङ ओझा थेगिम, भिजन गुरागाईं, सन्देश भेटुवाल, सन्तोष लावती, पदमप्रसाद दाहाल, लक्ष्मीकुमारी ताजपुरिया, सन्ध्या कर्ण र फगेन्द्र अधिकारीले आफ्ना रचना प्रस्तुत गर्दै भानुभक्तको सम्मानमा भावनात्मक अभिव्यक्ति प्रस्तुत गरे। गीत प्रस्तुतिमा वीरेन्द्र थोक्लिहाङ र बिराज बि.क. को गायनले कार्यक्रमलाई थप मनोरञ्जक बनाएको् थियो ।

कार्यक्रमका लागि ब्यानर लेखन तथा भानुभक्तको तस्वीर तयार पार्ने कार्य शिक्षक शिवकुमार आङ्बोले गरेका थिए।

कार्यक्रमको दौरानमा स्थानीय समाजसेवी तुलसीनाथ पौडेल (प्रकाश) को ४३औं जन्मोत्सव पनि मनाइएको थियो। सहभागीहरूलाई फलफूल र चिया वितरण गरी उनकी धर्मपत्नी नम्रता बस्नेत पौडेल तथा परिवारजनले जन्मोत्सवलाई सार्वजनिक रुपमा मनाउँदा कार्यक्रममा उत्साह थपिएको थियो।

साहित्यिक र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमले स्थानीय समुदायमा साहित्य र कला प्रतिको झुकाव झनै प्रगाढ बनाएको सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालले बताए ।
सताक्षीधाम साहित्य सङ्गमका अध्यक्ष उमानाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यादवप्रसाद घिमिरेले गरेका थिए, भने सदस्य श्रीप्रसाद खरेलले स्वागत मन्तव्य राख्दै अतिथिहरूको स्वागत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0