झापा । भारतसँगको खुला सीमाका कारण लागुऔषधको कारोबार बढेपछि झापामा प्रहरी कडाइका साथ कारबाहीमा उत्रिएको छ। पछिल्लो समय विर्तामोड–५ मा एक लाख क्याप्सुलसहित ठूलो परिमाणमा लागुऔषध भण्डारण गरिएको गोदाम फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१/८२ मा झापामा ५५९ जनालाई पक्राउ गरी ३४६ मुद्दा दर्ता भएका छन्। गत वर्षभन्दा यो सङ्ख्या १६.५ प्रतिशतले बढी हो।
पक्राउ परेका १४० प्रयोगकर्तालाई अभिभावकको जिम्मामा सुधार गृहमा पठाइएको छ। प्रहरीका अनुसार झापामा मात्र १,६५१ किलो गाँजा र २.८८ किलो ब्राउनसुगर बरामद भएको छ।
विर्तामोडमा दुईतले घरको भुइँतलामा लागुऔषध भण्डारण गरिएको गोदाम फेला परेको छ। यसमा औषधि पसल ‘सनलाइट फर्मा’ संलग्न भएको प्रहरीको दाबी छ। गोदामबाट इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमसम्म लागुऔषध आपूर्ति हुने गरेको अनुमान छ।
कोशी प्रदेशमा ‘दुव्र्यसनविरुद्ध आमाहरु’ र ‘फाइट एगेंस्ट नारकोटिक’ अभियान पनि सञ्चालनमा छन्। खुला सीमाका कारण लागुऔषध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ।












