झापा । नेपाल र भारतजस्ता हिन्दू बहुल देशहरूमा श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी एक महत्वपूर्ण धार्मिक पर्व हो। यो पर्व सर्प, विशेषतः नाग जातिका सर्पहरूको पूजा गरेर, उनीहरूलाई सम्मान गर्ने, संरक्षण गर्ने र सन्तुष्ट पार्ने परम्परासँग जोडिएको छ। आजकै दिन हिन्दू धर्मावलम्बीहरूले घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्छन्, दुबो, दूध, लावा, दही, चामल, घिउ आदि चढाउँछन्, र “नाग मंत्र” उच्चारण गरी शान्ति र सुरक्षाको कामना गर्छन्।
धार्मिक महत्व
हिन्दू धर्मशास्त्र अनुसार, नागहरू पाताल लोकका शासक हुन् र उनीहरूको आशीर्वादले वर्षा हुने, खेती सप्रिने, रोग व्याधीबाट छुटकारा पाइने विश्वास गरिन्छ। पुराणहरूमा नागहरूको प्रमुख स्थान छ। अनन्त, वासुकी, तक्षक, कालिया, शेष आदि प्रसिद्ध नागहरू हुन् जसको नाम नागमन्त्रमा उल्लेख गरिन्छ। यो दिन यिनै आठ नागहरूको पूजा गरिन्छ।
कृष्ण भगवानले कालिया नागलाई शान्त पारेको घटना पनि आजकै दिन घटेको विश्वास गरिएकोले, नाग पञ्चमी कृष्णको विजयको उत्सवका रूपमा पनि मनाइन्छ।
जनविश्वास
नाग पञ्चमीसँग थुप्रै जनविश्वासहरू जोडिएका छन्। विशेषतः वर्षाको समयमा सर्पहरूको गतिविधि बढ्ने हुँदा, यो पर्वले सर्पप्रति सजग र सचेत रहन प्रेरित गर्छ। मानिन्छ, नागलाई रुष्ट तुल्याउँदा पानी नपर्ने, खेती सुक्ने र विपद् आइपर्ने सम्भावना रहन्छ। त्यसैले नागलाई पूज्दा उनीहरू प्रसन्न भई मानिसहरूलाई हानि नपु¥याउने जनविश्वास छ।
कुनै समय काठमाडौँ उपत्यका विशाल तालले ढाकिएको थियो भन्ने किंवदन्ती छ। त्यो ताल सुकाएपछि रिसाएका नागहरूलाई फकाउन विभिन्न स्थानमा नागस्थल स्थापना गरियो र पूजा गर्न थालियो। अहिले पनि टोखा, नागपोखरी, टौदह लगायतका स्थानमा विशेष पूजा गरिन्छ।
सांस्कृतिक र पारिस्थितिक पक्ष
नाग पञ्चमी केवल धार्मिक वा जनविश्वाससँग मात्र सम्बन्धित छैन, यसले प्रकृति र जैविक विविधताको संरक्षण सम्बन्धी चेतनासमेत बोकेको पर्व हो। सर्प पारिस्थितिक सन्तुलनका लागि अत्यन्त आवश्यक जीव हुन्। यिनको पूजा गरेर मानिसले सर्पहरूप्रति सहअस्तित्वको भावना प्रकट गर्छन्।
आजको दिन, नाग पञ्चमी, केवल पूजा र परम्पराको अभ्यास मात्र नभई, धार्मिक श्रद्धा, जनविश्वास र पर्यावरण चेतनाको संगम हो। नागको पूजा गरेर हामीले केवल एक जीवको सम्मान गरेका हुँदैनौं, सँगसँगै हाम्रो पुरातन संस्कृतिको जगेर्ना, प्रकृतिप्रतिको कृतज्ञता र सहअस्तित्वको भावना पनि जीवन्त बनाएका हुन्छौं।













