काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले भोलिदेखि काठमाडौंको माइतीघर मण्डलामा आमरण अनशन बस्ने घोषणा गरेका छन्।

नगरका कार्यबाहक मेयर विसन राईद्वारा मंगलबार जारी गरिएको विज्ञप्तिमा मेयर भट्टराईले २०८२ साउन १४ गते बिहान ९ बजेबाट अनिश्चितकालीन आमरण अनशन सुरु गर्ने जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, “सत्याग्रहको पूर्वघोषित कार्यक्रम अन्तर्गत नगरप्रमुख ज्युले माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशन बस्ने घोषणा गर्नु भई सत्याग्रहलाई चरणबद्ध रूपमा अगाडि बढाउनु भएको व्यहोरा जानकारी गराइन्छ।”

मेयर भट्टराईले स्थानीय स्रोत र कच्चा पदार्थ प्रयोगमा संघीय ऐनले अवरोध सिर्जना गरेको भन्दै त्यसको संशोधनको माग राख्दै अनशनको घोषणा गरेका हुन्। उनका अनुसार, संघीय कानुनका कारण स्थानीय प्राकृतिक स्रोतको प्रयोगमा कठिनाइ आइरहेको छ, जसले विकास निर्माण र आत्मनिर्भरता लक्ष्यमा अवरोध पुर्‍याइरहेको छ।

अनशनस्थल माइतीघर मण्डलामा उनले कपाल मुण्डन गरी सेतो वस्त्रमा सत्याग्रह थालेका छन्। परालको गुन्द्रीमाथि कम्बल ओछ्याएर बसेका भट्टराईले ‘पैसा छैन, नीति देउ — आत्मनिर्भर समाज बनाऔँ’, ‘प्रकृतिको विनाश होइन, संरक्षण गरौँ’, ‘जलवायु परिवर्तनको असर — खोला खोल्सी, अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔँ’ जस्ता नाराहरू समेटिएका प्लेकार्ड प्रदर्शन गरेका छन्।

सत्याग्रहमार्फत् उनले संघीय सरकारसँग स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने, स्थानीय स्रोतसाधनको संरक्षण र प्रयोगमा नीति निर्माण गर्ने वातावरण सिर्जना गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0