शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा आगामी भाद्र १ गते बृहत रथ यात्रा हुने भएको छ । शिवसताक्षी नगरपालिका–६, शिवगञ्जस्थित सनातन धर्म संवर्धन संस्थाको आयोजनामा भगवान राधाकृष्णको रथयात्रा गर्ने भएको हो ।
संस्थाले मङ्गलबार पत्रकार सम्मेलन गरेर आगामी भाद्र १ गते (श्रीकृष्ण जम्माष्टमी) को दिनको १ बजे रथयात्रा गर्न तयारी सुरु गरिएको जानकारी दिएको छ । संस्थाका अध्यक्ष माधव अधिकारीले सनातन धर्म, संस्कृति र संस्कारको प्रवद्र्धन गर्दै भक्तिभाव जगाउने उद्देश्यले रथ यात्राको आयोजना गरिएको बताए ।
राधाकृष्णको रथयात्राले धार्मिक चेतना फैलाउने र सामाजिक सद्भाव बलियो बनाउने, पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । अध्यक्ष अधिकारीले भने, यस पटक १५ हजार माथि भक्तजनहरुलाई रथ यात्रामा सहभागी गराउने उद्देश्य रहेको छ ।
रथमा राधाकृष्णको मूर्ति राखी शिवगञ्जबाट भेलानुनी, कटुवालचौक, जनता चौक, हल्लारचोक, पाथिभरा मन्दिर, दुर्गामन्दिर, शिवालय लगायत प्रमुख मार्गहरू हुँदै परिक्रमा गरिनेछ । सो अवसरमा भजन–कीर्तन, संस्कृत मन्त्रोच्चारण, पूजाआजा लगायतका विविध धार्मिक कार्यक्रम पनि समावेश गराइने छ । श्रावण ३१ गते बेलुकी गंगा आरती, भजन कीर्तन लगायतका कार्यक्रमहरु हुने आयोजनले जनाएको छ ।

कार्यक्रमका लागि शिवसताक्षी नगरपालिका, वडा कार्यालय र विभिन्न धार्मिक व्यक्तित्वहरुको सहयोग रहने अध्यक्ष अधिकारीको भनाई छ ।
रथयात्रा सफल बनाउन जस्तो सुकै परिस्थिति रहे वडाले सहयोग गर्ने वडध्यक्ष मनोज खुलालले बताए । उनले शिवगञ्ज बजारमा यस्तो कार्यक्रमको आयोजना गर्नु गौरवको कुरा भएकाले धार्मिक व्यक्तित्वहरुलगायत वडाबासीहरुलाई रथयात्रामा सहभागी हुन आवहन समेत गरे ।
त्यस्तै कार्यक्रममा वडाध्यक्ष सिकिन पाश्वनले धार्मिक हिसाबले पनि आफ्नो ठाउँलाई विकास गर्न सकिन्छ भन्ने उद्देश्यले पनि कार्यक्रम व्यवस्थित हुने जानकारी दिए । यो कुनै धर्म र जाति विशेषलाई इग्गित नगरी झापा जिल्लाको उत्कृष्ट रथ यात्राको रुपमा स्थापित गर्न सबैले सहयोग गर्न आग्रह गरे ।
आयोजकले रथयात्राको तयारी भव्य र शालीन ढंगले सम्पन्न गर्न स्थानीयवासी, संघसंस्था र युवा समूहसँग सहकार्य भइरहेको जनाएको छ ।
स्थानीय स्तरमा यस प्रकारको धार्मिक यात्रा दोस्रो पटक हुन लागेको जनाउँदै आयोजकले सबै नागरिकलाई सहभागिता जनाउन आग्रह गरेका छन् । रथ यात्रा सनातन धर्मको मूल मर्म अनुसार श्रद्धा, सेवा र समर्पण भावले सम्पन्न गरिने आयोजकको भनाइ छ ।












