सिन्धुपाल्चोक । सिन्धुपाल्चोककी एक अविवाहित किशोरीले पेट दुखेको भन्दै साउन २० गते अस्पताल लगिएपछि शिशु जन्माएकी छन्। चिकित्सकले प्रसूति भएपछि घटना असामान्य देखिएपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव खरेलका अनुसार प्रहरीले सोधपुछ गर्दा ती किशोरीले जबरजस्ती करणीबाट आफू गर्भवती भएको खुलासा गरेकी हुन्। प्रहरी अनुसन्धानका क्रममा ती किशोरीले पटक–पटक बलात्कार भएको बताएको र सोही आधारमा जिल्लाकै ५० वर्षीय एक पुरुषलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता खरेलले जानकारी दिए।
‘पीडित किशोरीले सुरुमा परिवारलाई समेत गर्भवती भएको कुरा जानकारी दिएकी थिइनन्,’ खरेलले भने, ‘पेट दुखेको भन्दै अस्पताल ल्याइएकी उनी शिशु जन्माएपछि घटना सार्वजनिक भयो।’
प्रहरीका अनुसार पीडित किशोरीको परिवारले समेत उनको गर्भावस्था थाहा नपाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको गाम्भीर्यतालाई मध्यनजर गर्दै पक्राउ परेका व्यक्तिमाथि जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।












