काठमाडौं । संघीय निजामती सेवा विधेयकमा भएको संशोधनपछि उत्पन्न विवादका कारण नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ।

विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था निष्क्रिय हुने गरी प्रतिनिधिसभाबाट पारित भएपछि खतिवडा विवादको केन्द्रमा आएका थिए। यो विषयमा सभापतिको भूमिकालाई लिएर पार्टीभित्र नै चर्को आलोचना भएपछि कांग्रेसले छानबिन समिति गठन गरेको थियो।

जीवन परियारको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले खतिवडाको संलग्नता औंल्याउँदै नैतिक जिम्मेवारी लिन सुझावसहित प्रतिवेदन पेश गरेपछि नेतृत्व तहमा उनलाई पदमुक्त गर्न दबाब बढेको हो।

कांग्रेस स्रोतका अनुसार पार्टीको शीर्ष नेतृत्वबीच खतिवडालाई राजीनामा गराउने विषयमा सहमति बनिसकेको छ। एक/दुई दिनभित्रै उनलाई औपचारिक रूपमा निर्देशन दिइने जनाइएको छ।

“पार्टी सभापति शेरबहादुर देउवा स्वयं खतिवडालाई समितिको सभापति पदबाट हटाउनुपर्ने पक्षमा हुनुहुन्छ,” देउवा निकट एक नेताले जानकारी दिए।

यस घटनासँगै खतिवडाको संसदीय यात्रामा ठूलो मोड आउने संकेत देखिएको छ। साथै, पार्टीले विधेयक निर्माण प्रक्रियामा देखिएको अनियमितता प्रति गम्भीर रहेको सन्देश पनि दिन खोजेको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0