शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा नेवार समुदायले पहिलो पटक क्वाटी तथा लाखे नाचको भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। आज शिवसताक्षीको फूलबारी खेल मैदानमा विविध सांस्कृतिक प्रस्तुति, मौलिक भेषभूषा र परम्परागत संगीतका साथ कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा नेवार समुदायका युवा–युवतीले हाकुपाटासी, गुन्यू, मेखली, पाटा, टिलहरी, मुन्द्रा, फुली लगायतका गहनासहित महिलाको परम्परागत पहिरन र पुरुषतर्फ सुरुवा, दास् सुरुवा, भड्गाउँले टोपी, कोट, भेस्ट, पेटीबन्द जस्ता मौलिक भेषभूषा धारण गरेका थिए। यसले नेवार समुदायको ऐतिहासिक, सांस्कृतिक पहिचानलाई झल्काएको थियो।
शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले पछिल्लो समय नगरभित्र विभिन्न जातजातिले मनाउने संस्कृति, पर्व र चाडहरूलाई साझा उत्सवका रूपमा मनाउने सकारात्मक वातावरण विकास भइरहेको बताए। उनले नेवार समुदायले पहिलो पटक आयोजना गरेको लाखे नाच र क्वाटी कार्यक्रमलाई सफलताको शुभकामना दिँदै यसले नगरको सांस्कृतिक विविधता थप उजागर गर्ने बताए।
नेवार समुदाय आफ्नो अद्वितीय भेषभूषा, भाषा, परम्परा र सांस्कृतिक अभ्यासका कारण देशविदेशमा चिनिन्छ। उनीहरूले ‘नेपाल भाषा’ (रञ्जना लिपि) प्रयोग गर्दै आएका छन् र धार्मिक आस्थामा हिन्दू तथा बौद्ध दुवै परम्पराको सन्तुलित मिश्रण पाइन्छ। गुठी प्रणालीमार्फत जात्रा, देवपूजा, भोज–भतेर, व्रतबन्ध, विवाहजस्ता परम्परा पुस्तौँदेखि जगेर्ना हुँदै आएको छ।
संगीत तथा नृत्यमा नेवार समुदायको धिमे बाजा, नगारा, भुस्या, ब्यान्डुरी, पुंगाजस्ता वाद्यको विशेष महत्त्व छ। विशेष गरी भाद्र महिनामा गाईजात्रा वा इन्द्रजात्राका अवसरमा प्रस्तुत हुने लाखे नाचलाई नेवार संस्कृतिको अविभाज्य अङ्ग मानिन्छ। मुखुण्डो र रातो पोशाक धारण गरेका कलाकारहरूको यो नृत्य दुष्ट आत्मा भगाउने, रोग–व्याधि हटाउने र समाजमा शान्ति ल्याउने प्रतीकका रूपमा विश्वास गरिन्छ।
नेवार राष्ट्रिय संगठन, शिवसताक्षी नगर समितिका सचिव सचिन श्रेष्ठका अनुसार, यस कार्यक्रमबाट संकलित रकमले संस्थाको सांस्कृतिक कोष निर्माण गर्ने, स्थानीय संस्कृति प्रेमीहरूलाई सम्मान गर्ने, विपद् व्यवस्थापन कोष स्थापना गर्ने तथा नगरभित्रका धार्मिक र पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसार गर्ने योजना रहेको छ। केही सांस्कृतिक कार्यक्रमहरु आज बेलुका ९ बजेसम्म सञ्चालन हुने वार राष्ट्रिय संगठन, शिवसताक्षी नगर समितिले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहेको थियो। स्थानीय सेवारो डान्स सेन्टरका कलाकारहरूले नेवार सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, विभिन्न वडाध्यक्ष, संघ–संस्था तथा राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी र संस्कृतिप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम नेवार राष्ट्रिय संगठन, शिवसताक्षी नगर समितिका अध्यक्ष प्रदिउन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।












