रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द प्रसादसँग नेपाल र भारत दुवै देशको नागरिकता रहेको आरोप लागेपछि जिल्ला प्रशासन कार्यालय (जिप्रका) रौतहटले छानबिन सुरु गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गत साउन ७ गते वडाध्यक्ष रामानन्दलाई गौरस्थित कार्यालयमा बोलाएर बयान लिइएको हो। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले मातहतको मुद्दा फाँटमा बयान लिएको र विस्तृत विवरण संकलन भइरहेको बताए।

नयाँ पत्रिकाले प्राप्त विवरणअनुसार रामानन्दले भारत बिहारको पूर्वी चम्पारनमा ‘पप्पु यादव’ नाममा नागरिकता लिई मतदाता परिचयपत्र समेत बनाएको आरोप छ। भारतीय मतदाता परिचयपत्रमा उनको बुवाको नाम सियारामप्रसाद यादव, जन्ममिति १९८२, तथा ठेगाना ‘परेवा सहर–गाँव, अञ्चल–चिरैया, जिल्ला–पूर्वी चम्पारन’ उल्लेख छ। परिचयपत्रमा टाँसिएको फोटो नेपालमा प्रयोग भएको नागरिकताको फोटोसँग मेल खाने बताइएको छ।

नेपालमा भने उनले २०४७ जेठ २३ गते रौतहटबाट नागरिकता लिएका छन्। सो नागरिकतामा बुवाको नाम रामचन्द्र कापड यादव, ठेगाना पञ्चरुखी गाविस–३ उल्लेख छ। यसै नागरिकताबाट उनले मतदाता परिचयपत्र समेत प्राप्त गरेका छन्।

जिप्रकाका अनुसार रामानन्दविरुद्ध दुई महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको थियो। उक्त उजुरी गृह मन्त्रालय हुँदै जिप्रकामा आएको हो। घटनाबारे पुष्टि गर्न नेपालस्थित भारतीय दूतावाससँग पत्राचार पनि गरिएको छ।

वडाध्यक्ष रामानन्दले बयान दिएको पुष्टि गर्दै आरोप अस्वीकार गरेका छन्। उनले भने, “मसँग दोहोरो नागरिकता छैन, मेरा पुस्तौँपुस्ता नेपाली नागरिक हुन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0