दमक । झापाको दमकमा सञ्चारकर्मी तथा मिडिया सञ्चालकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापनबारे विस्तृत जानकारी दिने विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना प्रेस चौतारी नेपाल झापाले गरेको हो । जसमा स्थानीय मिडिया हाउसका प्रतिनिधि र पत्रकारहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो।
सामाजिक सुरक्षा कोष कोशी प्रदेश प्रमुख दिपकराज भट्टले कोषको स्थापना, उद्देश्य, सञ्चालन प्रणाली, योगदानकर्ता र योजना, आवद्ध हुने प्रक्रिया, प्राप्त हुने लाभदेखि आश्रित परिवारले पाउने सुविधासम्मका विषयमा व्यावहारिक जानकारी दिए। उनका अनुसार यो कोष श्रमिकको जीवनभरको सुरक्षाका लागि श्रमिक र रोजगारदाताले संयुक्त रूपमा योगदान गर्ने सरकारी योजना हो । जसमा मासिक तलवको ३१ प्रतिशत रकम जम्मा हुन्छ—११ प्रतिशत कामदार र २० प्रतिशत रोजगारदाताबाट हुने प्रमुख दिपकराज भट्टले जानकारी दिए ।
भट्टका अनुसार कोषमा आवद्ध श्रमिकले दुर्घटना विमा, स्वास्थ्योपचार, मातृत्व तथा शिशु स्याहार भत्ता, घातक रोग उपचार खर्च, पेन्सनलगायत दीर्घकालीन सुरक्षासम्बन्धी सेवा पाउनेछन्। औपचारिक, अनौपचारिक क्षेत्रका श्रमिकदेखि वैदेशिक रोजगारीमा गएकासम्मका व्यक्तिहरू समेत यसमा सहभागी हुन सक्ने सुविधा छ।
आन्तरिक राजश्व कार्यालय दमकका कर अधिकृत ज्ञानेन्द्र प्रसाद यादवले कारोबारका आधारमा कर प्रणाली, लेखा व्यवस्थापन, बिल–विजकको महत्व र समयमै कर नबुझाउँदा लाग्ने जरिवानासम्बन्धी विषयमा स्पष्ट मार्गदर्शन गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव बिक्रम लुइटेलले निम्न आय भएका श्रमिकको लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष भविष्यको संकटबाट जोगाउने बलियो माध्यम भएको उल्लेख गर्दै सबैलाई यसमा अनिवार्य रूपमा आबद्ध हुन आग्रह गरे।
प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौतारीका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सह–इञ्चार्ज गोपाल काफ्ले, केन्द्रीय सदस्य विष्णु पोखरेल, अग्रज पत्रकार गञ्जबहादुर दाहाल, हिमशिखर टिभीका सञ्चालक ध्रुव न्यौपाने, प्रदेश उपाध्यक्ष युवराज विवश, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, सहसचिव रमेश तिवारी, प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराईलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।












