झापा । प्रेस चौतारी झापाले कान्तिपुर टेलिभिजनकी पत्रकार रमा दाहाललाई लेखनबृत्ति पुरस्कारबाट सम्मान गरेको छ । चौतारीले संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा स्थापित ‘नेत्र पाठक स्मृति लेखनवृत्ति पुरस्कार’ दाहाल प्रदान गरेको हो ।
विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईले लेखनवृत्तिको सम्मानपत्र हस्तान्तरण गर्दै पुरस्कारले अग्रज पत्रकार नेत्र पाठकको स्मृतिलाई ताजा बनाउँदै प्रतिभाशाली पत्रकारलाई सम्मानित गरेको बताइन् ।
प्रेस चौतारी झापाले सोही समारोहमा नारी सञ्चार गृहका नवनिर्वाचित कार्य समितिलाई स्वागत गरेको छ । कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई खादा ओढाएर बधाई तथा शुभकामना दिइएको थियो ।
प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचारकोषका लागि नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष शिव ढुंगेलले ११ हजार १११ रकम सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै झापाली महिला पत्रकारहरुलाई तीजको अवसरमा महिलाहरुलाई दर समेत खुवाएको थियो ।
झापाले ६÷६ महिनामा प्रदान गरिने लेखनवृत्तिको लागि विषय घोषणा गरेको हो । प्रेस चौतारी झापाका नेता, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले विषयसहित दाता घोषणा गरेका हुन् ।
दोस्रो लेखनवृत्ति प्रेस चौतारीका केन्द्रीय सदस्य कोशी प्रदेशका सहइञ्चार्ज गोपाल काफ्लेले वित्तीय क्षेत्रमा, तेस्रो अग्रज पत्रकार खगेन्द्र भण्डारीले कृषि र चौथो प्रेस चौतारीका कोशी प्रदेशका सचिव लक्ष्मी उप्रेतीले स्वाथ्य क्षेत्रको विषयमा उत्कृष्ट समाचार लेख्नेहरुलाई नगदसहित लेखनवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् ।
चौतारीका झापा अध्यक्ष प्रदिप परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य गणेश पोखरेल, प्रेस चौतारी नेपालका कोशी प्रदेश सहइञ्चार्ज गोपाल काफ्ले, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, चौतारीका केन्द्रीय सदस्य सावित्रा दाहाल, पूर्व केन्द्रीय सदस्य भीमा शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, नेकपा एमाले जिल्ला कमिटी झापाका उपाध्यक्ष शिव ढुंगेललगायतको उपस्थिति रहेको थियो ।













