शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका शिवगञ्ज बजारमा बृहत रथ यात्रा निकालिएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ६, शिवगञ्जस्थित सनातन धर्म संवर्धन संस्थाको आयोजनामा कृष्ण अष्ठमीको अवसर पारेर भगवान श्रीकृष्णको रथयात्रा निकालिएको हो ।

रथयात्रा शिवगञ्ज बजारमा रहेको हनुमान मन्दिरदेखि भेलानुनी, कटुवालचौक, जनता चौक, हल्लारचोक, पाथिभरा मन्दिर, दुर्गामन्दिर, शिवालय लगायत प्रमुख मार्गहरू हुँदै पुनः हनुमान मन्दिरमा आएर समापन गरिएको थियो ।
रथयात्राले धार्मिक चेतना फैलाउने र सामाजिक सद्भाव बलियो बनाउने, पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको सनातन धर्म संवर्धन संस्थाका अध्यक्ष माधव अधिकारीले जानकारी दिनुभयो । रथयात्राका क्रममा नेवा समुदायले लाखे नाच, सन्थाल समुदायले आफ्नो साँस्कृतिक नाच प्रस्तुत गरेका थिए ।

रथ यात्रा कार्यक्रमको उद्घाटन झापा क्षेत्र नं. ४ का माननीय संसाद एलपी साँवा लिम्बुले गर्नु भएको थियो । कार्यक्रममा कृष्ण अष्ठमीको महत्व र रथयात्राको परम्पराको बारेमा पुज्य गुरुदेव आचार्य नन्दकिशोर भारद्वजले व्याख्या गर्नु भएको थियो भने, कार्यक्रममा माननीय सांसद एलपी साँवा लिम्बु, प्रदेश सांसद राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा लगायतले शुभकमना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन सताक्षी गुरुकोलमका प्राचार्य मदनमोहन अधिकारीले गर्नु भएको थियो भने, रथ यात्रामा वडाध्यक्ष सिकिन पासवनसहित जनप्रतिनिधिहरु, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, सामाजिक व्यक्तित्व, धार्मिक व्यक्ति तथा गुरुहरुसहित हजारौंको सख्यामा भक्तजनहरुको उपस्थिति रहेको थियो ।















