काठमाडौं । ओखलढुंगामा २०६७ सालमा भएको एमाले नेता छविलाल कार्की हत्याकाण्डका मुख्य आरोपी माओवादी नेता बाबुराम सुवेदीले आत्महत्या गरेका छन् । लामो समयदेखि फरार रहेका सुवेदीले आइतबार सुर्खेतको वीरेन्द्रनगर बसपार्कस्थित एक होटलमा जीवन समाप्त गरेका हुन् ।
प्रहरीका अनुसार घटनास्थलबाट सुसाइड नोट बरामद भएको छ, जसमा सुवेदीले माओवादी पार्टी नेतृत्व, विशेष गरी अध्यक्ष प्रचण्डप्रति असन्तोष व्यक्त गर्दै आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका छन् ।
सुवेदी तत्कालीन माओवादीको जिल्ला कमिटी सदस्य तथा २ नं. इलाका इन्चार्ज थिए । कार्की हत्या प्रकरणपछि उनी फरार भएका थिए भने अन्य संलग्नमध्ये धेरै पक्राउ परेका र कतिपय सजाय भोगेर कारागारमुक्त समेत भइसकेका थिए । तर सुवेदी भने झण्डै १५ वर्षसम्म प्रहरीको खोजी सूचीमा रहेर पनि लुकेर बाँचिरहेका थिए ।
२०६७ सालमा एमाले नेता कार्कीको हत्या हुँदा त्यसबेला माओवादीले आधिकारिक संलग्नता नस्वीकारे पनि पक्राउ परेकाहरुले पार्टी अध्यक्ष प्रचण्ड, रामबहादुर थापा (बादल) र गोपाल किरातीको निर्देशनमा घटना घटाएको बयान दिएका थिए ।
सुवेदीको आत्महत्याले लामो समयदेखि विवादित रहँदै आएको छविलाल कार्की हत्या प्रकरण फेरि एकपटक सार्वजनिक चासोको विषय बनेको छ ।












