रौतहट । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको महिलाको शवको पहिचान खुलेको छ। प्रहरीले उक्त शव ३० वर्षीया रुबी देवी साहको रहेको पुष्टि गरेको हो।

रुबिको स्थायी घर भारतको बिहार, मुजफ्फरपुरमा भए पनि उनी हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। उनका श्रीमान शिव कुमार साह बिहारकै मुजफ्फरपुर, सकरा बेल निवासी हुन्। मृतक रुबी साह माधवनारायण–६ बस्ने सुनिच्छा देवीकी छोरी हुन्। रुबीको करिब चार वर्षको छोरा रहेको प्रहरीले जनाएको छ।

शनिबार राति करिब १०:३० बजे डोरीले बाँधिएको अवस्थामा भेटिएको सुटकेश खोलेपछि शव फेला परेको थियो। प्रारम्भिक रूपमा साडी र चुरा फेला परेकाले शव महिलाको भएको अनुमान गरिएको थियो।

प्रहरीका अनुसार शवलाई रस्सीले बेरिएको अवस्थामा सुटकेशमा राखिएकाले हत्या गरी फालिएको हुनसक्ने देखिन्छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो।

शवलाई मुचुल्का उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ। यस घटनाबारे सत्यतथ्य पत्ता लगाउन प्रहरीले नजिकैको विद्यालयमा जडान गरिएको सिसीटीभी फुटेज संकलन गरेको छ भने मृतकको मोबाइल कल डिटेल पनि निकाल्ने तयारी भइरहेको छ। विस्तृत विवरण अनुसन्धानपछि मात्र आउने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0