काठमाडौं ।। नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै सानेपास्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा आज धर्ना दिएको छ । आन्दोलनको पहिलो चरणअन्तर्गत भएको धर्ना दिउँसो २ बजेसम्म चलेको थियो । महासंघले ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।
महासंघले २०७५, २०७८, २०८० र २०८१–८२ मा सरकारसँग भएका सहमति र २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्ले पारित गरेको ९ बुँदे कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।
सचिवालयले पारित विद्यालय शिक्षा विधेयक सहमति विपरीत भएको भन्दै महासंघले स्थायी शिक्षकको बढुवा, अस्थायी शिक्षकको पदपूर्ति ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुला गर्नुपर्ने, अध्यापन अनुमति पत्रको म्याद थप्ने, कर्मचारी तथा बालकक्षा शिक्षकको पद–वेतन सुनिश्चित गर्नेलगायत माग अघि सारेको छ ।
धर्ना श्रृंखलाअन्तर्गत बिहीबार एमाले कार्यालय च्यासल र शुक्रबार माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ ।













