दमक । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले अहिलेको सरकारले समृद्धिको यात्रालाई गति दिएको बताउनु भएको छ ।
विहीबार झापाको दमकमा पे्रस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले विकास र समृद्धका लागि यो गठबन्धन कायम रहने पनि बताउनु भएको हो । उहाँले देशमा केही भएन भन्नेहरुले नागरिकमा भ्रम छरी रहेको पनि बताउनु भयो ।
मन्त्री दाहालले सवारी साधानमा इम्बोस्ड नम्बर जडानको २०७२ साल मै ठिक्का दिइसकेकाले अहिले यसलाई कार्यान्वयमा ल्याउन लागेको जानकारी दिनु भयो ।
उहाँले इम्बोस्ड नम्बर प्लेट सवारी धनीलाई सुरक्षा हुने, सरकारलाई सवारी नियमन गर्न सजिलो हुने र सवारीको यकिन तथ्यांक समेत आउने भएकाले यसलाई प्रयोगमा ल्याउन सुरु गरिएको बताउनु भयो । विश्व भाषाका रुपमा अंग्रेजीलाई राखिने भएकाले र सबै देशहरुले यसलाई अबलम्बन गर्दै आएको हुनाले यसलाई नेपाली पहिचान हराउँछ भन्ने कुरा नलिइदिन समेत आग्रह गर्नु भयो ।
उहाँले भन्नुभयो, इम्बोस्ड नम्बर अहिले सबैले जडान गरिहाल््नु पर्छ भन्ने होइन । यो नयाँ सवारी साधन खरिद गर्दा, बिलबुक नविकरण गर्दा क्रमशः बनाउँदै लैजानु पर्ने हो ।
कार्यक्रममा सडक बिभागका महानिर्देशक डा. विजय जैशीले झापाको ठूला बजार दमक, विर्तामोडमा बन्ने ओभरपासमा नागरिकको बुझाई गलत रहेको बताउनु भयो । उहाँले भन्नु भयो, बजार नै छेलिने, बजारको सौन्दर्यता नै विर्गार्ने गरीको ओभर पासको डिजाइन भएको छैन । यो विदेश भएका राम्रा डिजाइनहरुको अध्ययन गरेर बनाइएको छ । काठमाण्डौमा निर्माण भएको ओभर पासको पनि सुरुमा विरोध भएको थियो तर अहिले निर्माण कार्य पुरा भएपछि त्यो सबैले रुचाएका छन्,उहाँले भन्नु भयो ।
पत्रकार भेटघाटमा प्रदेश माननीय होमबहादुर थापा, चिन्तन पाठक, छवि चुडाल, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष शिव ढुंगेल, सचिव तुलसी कार्की, प्रेस चौतारी केन्द्रिय कमिटी सदस्य मिना वि.क., प्रदेश कमिटी उपाध्यक्ष युवराज विवस, प्रदेश कमिटी सदस्य विष्णुप्रसाद पोखरेललगायत झापाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको बाल्लो उपस्थिति रहेको थियो ।
प्रेस चौतारी झापाका उपाध्यक्ष राजु पोख्रेलको अध्यक्षतामा भएको पत्रकार भेटघाटका सञ्चालन कोषाध्यक्ष सरोज भट्टराईले गरेका थिए ।












