शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ज्येष्ठ नागरिक वडा समितिले १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज शिवसताक्षीको वडा नं. ६ शिवगञ्ज स्थित ज्येष्ठ नागरिक भवनमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाको अवसर पारेर ज्येष्ठ नागरिकले अध्यक्षकोषमा सहयोग गर्ने ज्येष्ठ नागरिक सदस्य तथा पूर्व शिक्षक बलबहादुर राईलाई सम्मान गरिएको छ । बल बहादुर राईकी छोरी संगीता राईले अक्षयको लागि नगद २५ हजार सहयोग प्रदान गरेकी थिइन् ।
छोरी संगीता विदेशमा रहेकाले उहाँका पितालाई सम्मान गरिएको ज्येष्ठ नागरिक वडा समितिले जनाएको छ । त्यस्तै साधारण सभाकै अवसर पारेर वडाका ८५ वर्ष माथिका ४ जनालाई ज्येष्ठ माता र पितालाई सम्मान गरिएको छ । उनीहरुलाई ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको ज्येष्ठ नागरिक वडाध्यक्ष चक्रप्रसाद लुईटेलले बताए । सम्मानित हुनेहरुमा अभिमाया पौडेल, नरमाया श्रेष्ठ, विष्णुकान्त ढकाल र खडानन्द प्रसाई रहेका छन् ।

त्यस्तै शिवगज्जमा नवनिर्मित ज्येष्ठ नागरिक भवन समेत उद्घाटन गरिएको छ । वडाध्यक्ष मनोज खुलाल कार्की, वडा सदस्य तथा कार्यपालिका सदस्य गोमा रिजाल लगायतले उक्त भवनको आज उद्घाटन गरेका हुन् । भवन २० लाख १३ हजार ३६० रकमको लागतमा निर्माण गरिएको अध्यक्ष लुईटेलले जानकारी दिए । जसमा वडा कार्यालयबाट विनियोजित १० लाख, साहरा साकोसबाट १० लाख र १३ हजार ३६० स्थानीय दाताहरुको सहयोग रहेको छ ।
साधारण सभामा वडाध्यक्ष मनोज खुलाल कार्कीले ज्येष्ठ नागरिक हाम्रा सम्पत्ती, संस्कृति र ज्ञानको भण्डार रहेकाले उहाँहरुलाई सँधै सम्मान गर्नु पर्ने बताए । ज्येष्ठ पिता माताहरुको इच्छा चाहना अनुरुप नै वडा र साहरा साकोसको संयुक्त लगानीमा भवन निर्माण भएको छ । अब यस भवनको बाँकी आधारभूत अपुग रहेका कुराहरु पुरा गर्र्दै जाने वडाध्यक्ष खुलालले प्रतिबद्धता व्यक्त गरे । वडाध्यक्ष खुलालले स्थानीय जनआदर्श माध्यमिक विद्यालयले जग्गा उपलब्ध गराएपछि ज्येष्ठ नागरिक भवन निर्माण गर्न सफल भएको बताए।

कार्यक्रममा ज्येष्ठ नागरिक वडा नं. ६ का अध्यक्ष चक्रप्रसाद लुईटेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कार्यापालिका सदस्य गोमा रिजाल, ज्येष्ठ नागरिक नगर अध्यक्ष अम्बिका अधिकारी,सम्मानितहरुको तर्फबाट बलबहादुर राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहारा साकोस ज्येष्ठ नागरिक व्यवस्थापन समित संयोजक रामप्रसाद रोक्का, सदस्य मुकुन्दराज ढकाल, टिका प्रसाद उप्रेती सहारा नेपाल शिवगञ्ज साकोसका विमलकुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लोकबहादुर रोक्काले गरेका थिए ।













