शिवसताक्षी । निर्माणाधीन अवस्थामा रहेको पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडक आयोजनाअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा एचआईभीरएड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

शिवसताक्षी नगरपालिकाका हाइवेसँग जोडिएका वडाहरु १, ८, ९, १० र ११का जनप्रतिनिधि उक्त वडामा बसोबास गर्ने महिला–पुरुष, सडक निर्माणमा संलग्न श्रमिकहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा एशियन हाइवेसँग सम्बन्धि श्रमिक, यातायातकर्मी तथा अन्य चलायमान जनसंख्यालाई लक्षित गरी एचआईभीरएड्स, यौन रोग तथा मानव बेचबिखनको जोखिमबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका विज्ञ जीवन सिंहले सडक निर्माणका क्रममा बाहिरबाट काम गर्न आउने व्यक्तिहरूबाट महिलाहरु, बालबालिका र स्थानीयवासीमा यौनजन्य हिंसा, दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता जोखिम बढ्न सक्ने भएकाले समयमै परीक्षण, उपचार तथा सतर्कता आवश्यक रहेको उल्लेख गरिन् ।

कार्यक्रममा स्वास्थ्यकर्मी दीपक दाहालले एचआईभीरएड्स तथा यौन रोगसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए भने इलाका प्रहरी कार्यालय दमकका सई कुमार खतिवडाले मानव बेचबिखनसम्बन्धी जोखिम र सुरक्षा उपायबारे प्रोजेक्टरमार्फत प्रस्तुति दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले सडक निर्माणका लागि विभिन्न स्थानबाट कामदार आउने भएकाले त्यसबाट हुनसक्ने जोखिमप्रति नगरवासी सचेत रहनु पर्नेमा जोड दिइन् । साथै, आयोजनाका सरोकारवालाले पनि गम्भीर भएर निगरानी गर्नु आवश्यक रहेको बताउँदै सहभागीहरूले सिकेका कुरा समुदायमा बाँड्न आग्रह गरिन् ।

सहभागीहरुका तर्फबाट शिवसताक्षी नगरपालिकाका प्रशासन प्रमुख डिल्ली नेपाल र वडा नं. १० की बासिन्दा रोहिता भट्टराई तालिमका अनुभवहरुको र कार्यक्रमको विषयमा आफ्ना कुरा राखेका थिए ।

कार्यक्रममा नगरपालिकाका प्रशासन शाखा अधिकृत डिल्लीराम नेपाल, आयोजना परामर्शदाता तथा आवासीय इन्जिनियर राजेन्द्र चिल्वाल, शिक्षक, सामाजिक संस्थाका प्रतिनिधि र स्थानीय गरी ६० भन्दा बढीको सहभागिता थियो।

विज्ञ सिंहका अनुसार झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिकामा यस्ता जनचेतना कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। साथै, सडक छेउका विभिन्न स्थानहरूमा चेतनामूलक साइनबोर्डहरू पनि राखिनेछ। कार्यक्रमको सहजीकरण सिंहले नै गरेकी थिइन्  ।

कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा सञ्चालित राजमार्ग अभिवृद्धि आयोजना अन्तर्गत आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0