काठमाडौं । नेपाल सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबसहित २६ वटा सामाजिक सञ्जाल नेपालमा तत्काल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरी सो प्लेटफर्म बन्दको प्रक्रिया सुरु गरिसकेको हो।

मन्त्रालय स्रोतका अनुसार, दर्ता प्रक्रिया अघि बढाउने सामाजिक सञ्जाललाई भने पुनः क्रमशः सञ्चालन गर्न दिने नीति लिइएको छ। नेपालमा कानूनी अनुमति नलिएका सञ्जाल तथा ओभर द टप (ओटीटी) एप्समार्फत प्रसारण हुने विज्ञापन सामग्री नियमन गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको थियो।

न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले बुधबार जारी गरेको परमादेशमा विदेशी प्रसारण संस्था वा डिजिटल कार्यक्रम उत्पादकले नेपालभित्र सामग्री प्रसारण गर्न चाहिने अनुमति अनिवार्य हुने स्पष्ट गरेको छ। साथै, आवश्यक कानुन निर्माण गरी नियमन गर्न सरकारलाई आदेश दिएको हो।

हालको प्रसारण नियमावलीले पनि विदेशी संस्था वा डिजिटल कार्यक्रम नेपालमा डाउनलिङ्क गरी प्रसारण गर्न चाहिने भएमा अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। यही पृष्ठभूमिमा सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने कदम चालेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0