काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा शनिबार काठमाडौंमा गरिएको सांकेतिक प्रदर्शनबाट ‘युथ कंग्रेस नेपाल’का पाँच जना युवा कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रअगाडि आयोजित विरोध कार्यक्रममा सहभागी भएका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय सदस्यहरू सुजन राज गिरी र धिरज सञ्जेल तथा सदस्य आशिष शर्मालाई प्रहरीले पक्राउ गरेको हो।
प्रदर्शनमा सहभागी युवाहरूले मुखमा मास्क र त्यस माथि कालो टेप टाँसी, अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गरिएको प्रतीकका रूपमा सांकेतिक विरोध जनाएका थिए।
संस्थाका अनुसार, सामाजिक सञ्जाल बन्दजस्तो कदमले लोकतान्त्रिक मूल्य र मान्यतामाथि गम्भीर प्रहार भएको भन्दै उनीहरूले विरोधको बाटो रोजेका हुन्। “हामी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि सडकमा उत्रिएका हौं,” संस्थाका एक सदस्यले भने।
बिना शर्त रिहाइको माग
‘युथ कंग्रेस नेपाल’ले जारी गरेको विज्ञप्तिमा पक्राउ परेका पाँचै जनालाई तत्काल बिना शर्त रिहाइ गर्न माग गरिएको छ। साथै, शान्तिपूर्ण आन्दोलनहरूलाई बल प्रयोगमार्फत रोक्न खोज्नु गैर-लोकतान्त्रिक प्रवृत्ति भएको भन्दै सम्बन्धित निकायलाई सचेत गराइएको छ। सामाजिक सञ्जालको प्रयोग लोकतन्त्रमा नागरिकहरूको सूचना, अभिव्यक्ति र सहभागिताको आधार भएको सन्दर्भमा, यसको प्रतिबन्धप्रति युवाहरूको विरोध चुलिंदै गएको देखिएको छ।













