झापा । देशलाई पूर्व–पश्चिम जोड्ने १,३९० किलोमिटर लामो मदन भण्डारी राजमार्ग अधिकांश क्षेत्रमा पूर्व सहमतिअनुसारै निर्माण भइरहेको छ । तर झापामा भने राजनीतिक स्वार्थ र प्रभावशाली समूहको दबाबले मार्गको रेखांकनमै विवाद देखिएको छ ।

सरकारको प्रारम्भिक योजनाअनुसार दमकपूर्व शिखर कटेरी (उत्तम चोक) हुँदै सताक्षीधाम मन्दिरको दक्षिणतर्फको जंगल, पानीटंकी–दोमुखा–लाल खोला–सुन खोला हुँदै चण्डालघाटसम्म राजमार्ग पुग्ने थियो । खर्च घटाउने भन्दै करिब ८ किलोमिटर सडक झापा केर्खा पूर्व कमल खोला हुँदै माइधारसम्म पूर्वपश्चिम राजमार्ग छुवाएरै माइखोला पश्चिम चण्डालघाट पुर्‍याउने तयारी भइरहेको छ । यसबाट उत्तरी क्षेत्रका मार्सेबुङलगायत बस्तीले प्रत्यक्ष फाइदा पाउने अपेक्षा गरिएको थियो ।

तर २०७६ साल चैत २६ गतेको मन्त्रिपरिषद् निर्णयले करिब ८ किलोमिटर छोट्याउने नाममा सडकलाई केर्खा हुँदै माइधार पुर्‍याएर त्यहाँबाट पूर्वपश्चिम राजमार्गसँग जोड्ने गरी मार्ग मोडिएको छ । यसरी मोडिएको खण्ड कम जनसंख्या भएका तर प्रभावशाली समूहलाई लाभ पुग्ने खालको देखिएको छ ।

सडक सिधै शिखर कटेरीदेखि चण्डालघाट जोड्न सकिने भए पनि कठिन भूगोलका कारण लागत बढ्ने भन्दै सम्भावना न्यून भएको छ । त्यसैले स्थानीय सरोकारवालाले ‘मार्सेबुङ हुँदै जाने विकल्प नै अधिक व्यवहारिक’ भएको तर्क गर्दै आएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भने, “सरकारले स्वीकृत गरेअनुसार नै मार्ग बन्नेछ” भन्दै विवादलाई औपचारिक रूपमा अस्वीकार गर्नुभएको छ । आयोजना निर्देशनालयले पनि दोमुखा हुँदै जाने खण्डको ठेक्का प्रक्रियासम्म पुगेको जनाएको छ ।

तर विशेषज्ञहरूको चेतावनी फरक छ । उनीहरूको भनाइमा, अहिलेको निर्णयले चुरे क्षेत्रको बढी दोहन, उच्च लागत, र ठूलो संख्यामा जनतालाई लाभ दिनुपर्ने अवसर गुमाउने खतरा छ ।

हालसम्म १,३९० किलोमिटरमध्ये ३६९ किलोमिटर मात्र निर्माण सम्पन्न भएको छ । निर्देशनालयको लक्ष्य ७४० किलोमिटर सडक निर्माणको हो । तर झापाको खण्ड स्वार्थ र विवादमा अल्झँदा विकासभन्दा उपेक्षा र असन्तुष्टि बढी बढ्ने संकेत देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0