काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै राजधानीमा जेनजी पुस्ताको असन्तुष्टि सडकसम्म आइपुगेको छ । माइतीघर मण्डलामा बिहानैदेखि भेला भएका युवाहरूको भीड दिउँसोतिर झनै बाक्लिँदै गएको छ ।

राष्ट्रिय झण्डा बोकेर नारा लगाउँदै सडकमा उत्रिएका उनीहरूबीच उत्साह र आक्रोश दुबै देखिन्छ । कतिपय विद्यार्थीहरू स्कुल–कलेजकै ड्रेसमा छन् भने अरूले “स्टप करप्सन”, “स्वतन्त्र आवाज हाम्रो अधिकार”, “असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ” भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड देखाएका छन् ।

प्रदर्शनको स्वरूप भने फरक छ—उनीहरूले राष्ट्रभक्ति गीत गाएर, व्यंग्यात्मक नारामार्फत असन्तुष्टि प्रकट गरेर विरोध जनाइरहेका छन् । राजनीतिक दलका कार्यकर्तालाई सहभागिता नदिने अडान लिएका उनीहरूले यो आन्दोलनलाई शुद्ध नागरिक स्वरुपमा राख्ने प्रतिबद्धता दोहोर्याएका छन् ।

“हामी सडकमा उत्रिएका छौं, तर सार्वजनिक सम्पत्ति नष्ट गर्दैनौं, तोडफोड गर्दैनौं, हामी सभ्य तर दृढ भएर बोल्छौं,” भन्ने साझा घोषणा गर्दै जेनजी प्रदर्शनकारीहरूले आन्दोलनलाई शान्तिपूर्ण तर शक्तिशाली बनाउन खोजेका छन् ।

सुरक्षाकर्मीको उपस्थिति भने बाक्लो छ । सम्भावित घुसपैठ रोक्न अतिरिक्त फोर्स खटाइएको छ । तर, अहिलेसम्म वातावरण शान्त नै देखिएको छ ।

काठमाडौंसँगै रुपन्देही, दाङलगायतका जिल्लामा पनि जेनजी युवाहरूले यस्तै प्रदर्शन सुरु गरेका छन् । सामाजिक सञ्जालमै आयोजना गरिएको यो विरोध कार्यक्रम अहिले देशव्यापी स्वरुपतर्फ बढ्दै गएको संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0