काठमाडौं । नेपालमा निरन्तर भइरहेको वर्षा अहिले पनि अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावकै कारण हो। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान वरिपरि नै रहेकाले देशका विभिन्न भागमा पानी पर्ने क्रम जारी छ।
गएको रात कोशी प्रदेशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षा मापन गरिएको छ। पछिल्लो केही घण्टामा बाँकेको नौबस्ता, उदयपुरको गाईघाट लगायतका ठाउँमा समेत उल्लेख्य पानी परेको छ।
वरिष्ठ मौसमविद शान्ति कँडेलका अनुसार हाल वायुमण्डलमा बादलको गतिविधि तीव्र बन्दै गएको छ। “रातिदेखि वर्षा सक्रिय छ। कोशी प्रदेशमा धेरै भारी वर्षा भएको छ भने त्यसपछि मधेश र लुम्बिनीमा पनि वर्षा देखिन्छ,” उनले भनिन्। कँडेलका अनुसार यसको प्रभाव कम्तीमा दुई–तीन दिन अझै रहनेछ।
जल तथा मौसम विज्ञान विभागले दिएको तथ्यांकअनुसार झापाको केचनामा गत २४ घण्टामा १२४.८ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, दमकमा ९२.८ र दिङ्गलामा ९४.६ मिलिमिटर पानी परेको छ। उदयपुरको गाईघाटमा मात्र एक घण्टामै ५४.६ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ, जुन भारी वर्षाको श्रेणीमा पर्छ।
यसैगरी, मधेश प्रदेशको सिराहा, रुपनी, गोलबजारलगायत स्थानमा पनि झरी परेको छ भने पश्चिमतर्फ बाँकेको नौबस्ता, अर्घाखाँचीको सिद्धारा र रङ्सिङमा समेत वर्षा भएको छ।
विशेषज्ञहरुका अनुसार आगामी दिनमा मनसुनको न्यूनचापीय रेखा अझै उत्तरतर्फ सर्न सक्ने देखिएको छ। यदि सो रेखा नेपालतर्फ सर्यो भने पानी पर्ने दर अझै बढ्ने अनुमान गरिएको छ।
“झापा र बाँके क्षेत्रमा तीन घण्टादेखि लगातार भारी वर्षा भइरहेको छ। पूर्वी तराईमा अझ ठूलो वर्षा हुने सम्भावना उच्च छ,” मौसमविद कँडेलले बताइन्। तर, उनले देशभर एकैपटक झरी नपरी छुट्टाछुट्टै स्थानमा मात्र ठूलो पानी पर्ने सम्भावना रहेको स्पष्ट पारिन्।












