काठमाडौं । नेकपा माओवादी केन्द्रको सातौँ पूर्ण बैठक शुक्रबार सम्पन्न भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गर्दै बैठक सकिएको नेता रहिश साहले जानकारी दिए ।

बैठकले केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यससँगै अब पार्टीको औपचारिक संरचना महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ ।

प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि राखेका थिए, जुन पारित भएको छ । तर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने प्रतिनिधि सभा निर्वाचन (फागुन २१) पछि मात्र महाधिवेशन गर्नु उपयुक्त हुने सुझाव दिएका थिए ।

बैठकमा नेतृत्व सम्बन्धी विभिन्न प्रस्तावहरूमा व्यापक छलफल भए पनि अधिकांश अस्वीकृत भएका छन् । अध्यक्ष प्रचण्डले कार्यवाहक अध्यक्षको जिम्मेवारी आफूले पाउनुपर्ने प्रस्ताव अघि सारे पनि अनुमोदन भएन । त्यस्तै, उपमहासचिव जनार्दन शर्माले नयाँ टिम ल्याउने र पुराना पदाधिकारीलाई निर्देशक समितिमा मात्र रुपान्तरण गर्ने सुझाव दिएका थिए, तर उक्त प्रस्ताव पनि अस्वीकार भएको छ ।

यद्यपि, बैठकमा सम्पत्ति छानबिनसम्बन्धी एजेन्डाले विशेष ध्यान खिच्यो । सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले सबै नेताहरूको व्यक्तिगत तथा पार्टी सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने प्रस्ताव राखे । जवाफमा प्रचण्डले नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्दै छानबिन आयोग गठन प्रक्रिया अघि बढाइने बताए ।

बैठकमा प्रस्तुत निष्कर्षअनुसार, छानबिन आयोगमा पूर्व महालेखा परीक्षक वा स्वतन्त्र व्यक्तिहरूलाई समावेश गर्ने प्रस्ताव गरिएको छ ।

यसरी, माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले संगठनात्मक रूपान्तरण मात्र नभई पारदर्शिताको दिशामा नयाँ प्रतिबद्धता पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0