बिर्तामोड । लामो समयपछि इलाका प्रहरी कार्यालय अनारमनी र ट्राफिक प्रहरी बिर्तामोडमा पुनःस्थापित भएका छन् । जेन जी आन्दोलनका कारण विस्थापित रहेका प्रहरीहरूलाई आज बिहान विशेष समारोहमार्फत पुनः कार्यालयमा प्रवेश गराइएको हो ।
मुक्तिचोकदेखि सुरु भएको सद्भाव र्यालीसहित प्रहरी कर्मचारीहरूलाई इलाका प्रहरी कार्यालयमा डिएसपी विजय श्रेष्ठ र ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलको नेतृत्वमा पुनःस्थापना गरियो ।

कार्यक्रममा विर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले दुवै कार्यालयका प्रमुखलाई औपचारिक स्वागत गर्दै स्थानीय समाज, संघ–संस्था र युवाहरूको सहयोगले प्रहरी पुनःफिर्ता हुनु बिर्तामोडका लागि ऐतिहासिक क्षण भएको बताइन् । “प्रहरी फर्किएसँगै शान्ति र सुरक्षाको अनुभूति भएको छ,” उनले भनिन् ।
युवा व्यवसायी पदम श्रेष्ठका अनुसार, समुदायको अग्रसरतामा दुवै प्रहरी युनिटका क्षतिग्रस्त भवन पुनर्निर्माण गरिएको हो । स्थानीयको सक्रियता र सहयोगकै कारण बिर्तामोडमा प्रहरी पुनःस्थापना सम्भव भएको उनले बताए ।
वि.स. २०१२ सालमा पहिलो पटक स्थापना भएको बिर्तामोड प्रहरी कार्यालय यसपटक समुदायकै साथ र विश्वासका आधारमा पुनःप्रवेश गरेको छ ।













