शिवसताक्षी । झापा जिल्लाको शिवसताक्षी नगरपालिकाले बाढी र डुबानबाट प्रभावित नागरिकहरूको क्षति विवरण संकलन कार्य सुरु गरेको छ।

गत असोज १८ गते रातिदेखि परेको अविरल वर्षाका कारण कनकाई माई नदीमा आएको बाढीले नगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका थिए। प्रारम्भिक चरणमा शिवसताक्षी–७ लालपानीका ७२ घरपरिवारको क्षति विवरण संकलन गरिएको नगरपालिकाले जनाएको छ । उक्त क्षेत्रमा अझै केही घरको विवरण संकलन गर्न बाँकी रहेको छ ।

बाढीबाट विस्थापित नागरिकहरू हाल लालपानी माध्यमिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । लालपानी क्षेत्रमा मुख्यतया राजवंशी समुदायका परिवारहरूको बसोबास रहेको छ ।

नगरपालिकाका अनुसार, बाढीबाट ४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अन्य घरहरू आंशिक रूपमा प्रभावित छन् । साना फुसका घर भएकाले अधिकांश पीडित परिवारहरूको लत्ता–कपडा, भाँडा–बर्तन, किचनका सामग्री र दैनिक प्रयोगका सामानहरूमा ठूलो क्षति पुगेको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिनुभयो । यस्तै पानीको मोटर, सिचाईको मोटर, पानी तान्ने पम्पिसेट मेसिनसमेतमा बाढीले क्षति पुरयाएको छ ।

नगरप्रमुख थोप्राका अनुसार, धेरै नागरिकले वर्षदिनका लागि तयारी गरेको धान र अन्न हिलोले पुरिएर नष्ट भएको छ। “कतिपयको भकारीमै राखिएको धानसमेत हिलोमा डुबेर खान अयोग्य भएको छ ।

यसैबीच, नगरपालिकाले तत्काल राहत स्वरूप पीडित नागरिकलाई ओछ्याउने म्याट, झुल, तन्ना, महिलाका लागि साडी र खाद्य सामग्री वितरण गरेको नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिनुभयो ।

नगरपालिकाले विस्तृत विवरण संकलनपछि क्षतिको परिमाणअनुसार राहत वितरण गर्ने तयारी गरेको छ। प्रारम्भिक मूल्यांकनअनुसार, प्रति घर रु १५ हजारदेखि १ लाखसम्मको क्षति भएको अनुमान गरिएको छ।

बाढीबाट वडा नं. ४, ५, ६ मा पनि डुवानमा परेको छ । उक्त वडाहरुमा पनि नगरपालिकाले क्रमश क्षति विवरण संकलन गरिने जनाएको छ । आज जनप्रतिनिधि, कर्मचारी, प्रहरीलगायतको टोलीले क्षति विवरण संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0