काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले दाबी पेस गर्ने भएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेलाई सरकार बाहिर राखेर बाँकी पाँच दलबीच सरकार गठन गर्ने सहमति भएको माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहाले जानकारी दिए। लोसपा, जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच यस्तो सहमती जुटेको हो ।
प्रदेस सभामा जसपाका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ।
५६ सांसद्को बहुमत जुटाएर प्रदेश प्रमुखसँग दाबी पेस गर्न जान लागेको कुशवाहले बताए । मुख्यमन्त्री सतिशकुमार सिंहले हिजो (मंगलबार) प्रदेश सभाबाट विश्वासको मत गुमाएपछि राजीनामा दिएका थिए ।
जनमत पार्टीका अध्यक्ष सिके राउतको निर्देशनविपरित राजीनामा दिन अस्वीकार गरेका सिंहले प्रदेश सभाबाट विश्वासको मत लिने अडान लिएका थिए ।
यसअघि कांग्रेस, एमाले र लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह अल्पमतमा परेका थिए ।
यस्तै, एमाले र जनमतको समर्थनमा कांग्रेसले मुख्यमन्त्रीको दाबी पेश गरेको थियो ।
प्रदेश प्रमुखको कार्यालयमा असोज २२ गते कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन तीन दलका सांसदको हस्ताक्षरसहित दाबी पेश भएको थियो ।













