झापा । रश्मिकुमारी घिसिङको दुई गोलको मद्दतले एपिएफ फुटबल क्लब झापाको दुधेमा जारी दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
प्रतिस्पर्धात्मक खेलमा झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपिएफले उपाधि नजिकको यात्रा तय गरेको हो । फाइनल प्रवेशसँगै एपिएफले कम्तीमा ५ लाख ५० हजार रुपैयाँ पुरस्कार सुनिश्चित गरेको छ ।
खेलको २६औँ मिनेटमा रश्मिले फ्रि–किकमार्फत गोल गर्दै एपिएफलाई अग्रता दिलाइन् । झापाकी सेमिहाङमा लिम्बुले रश्मिलाई डी–एरिया नजिकै फाउल गरेपछि प्राप्त फ्रि–किकलाई उनले सोझै पोस्टको दिशा दिएकी थिइन् ।
त्यसको १२ मिनेटपछि रश्मिले व्यक्तिगत दोस्रो गोल थपिन् । मनमाया दमाईले मध्यभागबाट दिएको पासलाई सदुपयोग गर्दै उनले झापाका डिफेन्डर र गोलकिपरलाई बिट गर्दै जाली चुमाएकी थिइन् ।
खेलको सुरुवातदेखि नै एपिएफले आक्रामक रणनीति अपनाउँदा झापा रक्षात्मक देखिएको थियो । झापाले गोलका केही अवसर सिर्जना गरे पनि कमजोर फिनिसिङ र एपिएफको बलियो रक्षापंक्तिका कारण सफल हुन सकेन ।

दोस्रो हाफमा झापाले सुधारिएको प्रदर्शन गरे पनि एपिएफका आक्रमण रोक्नमै बढी केन्द्रित हुनुपर्यो । रश्मि, पूर्णिमा राई, अनिता केसी र कुसुम खतिवडालगायतका खेलाडीले गरेका प्रहारलाई झापाका डिफेन्डरले विफल बनाएका थिए ।
खेलको प्लेयर अफ द म्याच एपिएफकी कप्तान रेनुका नगरकोटी घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।












